राजनीति


दशरथ चन्द विश्वविद्यालयका रजिस्ट्रार चन्द भन्छन्– सरकारले मागे राजीनामा दिन्छु

दशरथ चन्द विश्वविद्यालयका रजिस्ट्रार चन्द भन्छन्– सरकारले मागे राजीनामा दिन्छु

नेपालखबर
साउन ११, २०८३ सोमबार १७:२२, काठमाडौँ

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्दले सरकारले मागेमा आफू राजीनामा दिन तयार भएको बताएका छन्। 

वरिष्ठ चिकित्सक डा. गोविन्द केसी रजिस्ट्रार चन्दको राजीनामा लगायतका माग राखि अनसन बसिरहेका बेला रजिस्ट्रार चन्दको यस्तो भनाई सार्वजनिक भएको हो। 

उनले डा. केसीलाई खुलापत्र लेख्दै ‘यो पद मेरा लागि व्यक्तिगत प्रतिष्ठा, सुविधा वा स्वार्थपूर्तिको माध्यम होइन’ भनेका छन्। ‘तर मेरो राजीनामा माग्नुको तथ्यगत, कानुनी र नैतिक आधार के हो भन्ने विषयमा तपाईंले राष्ट्र र सम्पूर्ण नेपाली जनतासामु स्पष्ट जवाफ दिनुपर्छ’ डा. चन्दले भनेका छन्।

उनले सुदूरपश्चिमका सांसदहरू, शिक्षामन्त्री र नेपाल सरकारबाट ‘डा भीमबहादुर चन्द रजिस्ट्रार पदका लागि अयोग्य छन्’ भन्ने लिखित निष्कर्ष प्राप्त भएको एक मिनेटभित्र आफ्नो पदबाट राजीनामा दिने पनि स्पष्ट पारेका छन्।

डा. चन्द थप्छन्, ‘तर मेरो राजीनामा मौखिक दबाब, व्यक्तिगत आग्रह, हल्ला वा पूर्वाग्रहका आधारमा होइन, तथ्य, प्रमाण र जिम्मेवारीसहितको लिखित निष्कर्षका आधारमा हुनुपर्छ।’

उनले आफूशिक्षा मन्त्रालयले प्रकाशित गरेको सार्वजनिक विज्ञापनअनुसार भएको खुला प्रतिस्पर्धामा १९ जना आवेदकमध्ये मूल्यांकन प्रक्रियाबाट  पहिलो स्थानमा छनोट भएको दाबी पनि गरेका छन्। 

‘एउटै विज्ञापनअन्तर्गत प्रतिस्पर्धा गरेका अन्य उम्मेदवार योग्य हुने, तर मूल्यांकनमा पहिलो स्थानमा छनोट भएको म मात्रै अयोग्य कसरी भएँ?’ उनले भनेका छन्, ‘मेरो नियुक्तिमा कानुनी वा प्रक्रियागत त्रुटि भएको हो भने त्यसको प्रमाण सार्वजनिक गरियोस्। मेरो योग्यता अपुग छ भने कुन कानुन, कुन मापदण्ड र कुन आधारमा अपुग छ, स्पष्ट भनियोस्।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad