जेनजी प्रतिनिधि सुदन गुरुङले सरकार र जेनजीबीच भएको सहमति विपरीत आन्दोलनमा सहभागी व्यक्तिहरूलाई पक्राउ गर्ने कार्य जारी रहेको आरोप लगाएका छन्।
उनले यसप्रति असन्तुष्टि जनाउँदै आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्रीसहित उच्च अधिकारीहरूको टेलिफोन नम्बर सार्वजनिक गरेका छन्।
गुरुङले फेसबुक पोस्टमार्फत गृहमन्त्री ओम आर्याल, गृहसचिव रामेश्वर दंगाल र गृहमन्त्रीका स्वकीय सचिव धिरज जोशीको सम्पर्क नम्बर सार्वजनिक गरेका हुन्।
उनले जेनजी सम्झौतामा प्रधानमन्त्रीबाट हस्ताक्षर भई राजपत्रमा प्रकाशित भइसकेको भए पनि राष्ट्रपतिबाट हस्ताक्षर नहुँदा सहमतिअनुसारका कामहरू अघि बढ्न नसकेको आरोप लगाएका छन्।
सरकार र जेनजीबीच मंरि २४ गते सम्झौता भएको थियो जसमा जेनजी आन्दोलनमा राजनीतिकरुपमा सहभागी भएकाहरुलाई कारबाही नगर्ने र मुुद्धा चलिसकेको भए त्यसलाई फिर्ता लिने उल्लेख गरिएको थियो।
गुुरुङले सम्झौताअनुसार भ्रष्टाचारी तथा हत्यारामाथि छानबिन र कारबाहीको प्रक्रिया अघि बढ्नुपर्नेमा त्यसतर्फ ध्यान नदिइएको दाबी पनि उनले गरेका छन्।
बरु भदौ २३ र २४ का घटनाका आधारमा झुट्टा तथा अभद्र मुद्दा लगाएर आन्दोलनमा सहभागीहरूलाई फसाउने र पक्राउ गर्ने कार्य भइरहेको उनको दाबी छ।
गुरुङका अनुसार, पटक-पटक पहल गर्दा पनि मुद्दा र धरौटीका कारण पक्राउ परेकाहरू रिहा हुन सकेका छैनन्।
अबदेखि रिहाइका विषयमा पीडित पक्षका परिवारले सरकारका सुरक्षा निकाय, गृहमन्त्री तथा उनका स्वकीय सचिवलाई नै सम्पर्क गर्नुपर्ने भन्दै उनले उनीहरुको टेलिफोन नम्बर सार्वजनिक गरिदिएका हुन्।
Shares

प्रतिक्रिया