राजनीति


माओवादी पृष्ठभूमिका लेखराज: संकटमा ओलीलाई साथ दिए, भीम रावललाई पाखा लगाउँदै एमालेमा जमे

सुदूरपश्चिमबाट एक्ला पदाधिकारी
माओवादी पृष्ठभूमिका लेखराज: संकटमा ओलीलाई साथ दिए, भीम रावललाई पाखा लगाउँदै एमालेमा जमे

फाइल फोटो


गोकुल जोशी
पुस ३, २०८२ बिहिबार २२:०, कञ्चनपुर

नेकपा एमालेको ११औँ महाधिवेशनमा चुनावमार्फत केपी शर्मा ओलीको नेतृत्वमा नयाँ कमिटी चयन भएको छ। 

ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै एमालेको अध्यक्षमा तेस्रो पटक ओली चुनिएका छन्। 

ओलीको नेतृत्वमा चयन भएको एमालेको केन्द्रीय कमिटी पदाधिकारीमा सुदूरपश्चिमबाट एक जना मात्रै निर्वाचित हुन सफल भएका छन्। 

१९ सदस्यीय पदाधिकारीमध्ये उपमहासचिवमा एमाले नेता लेखराज भट्ट सर्वाधिक मतले विजयी बने। ओली प्यानलबाट उपमहासचिवको उम्मेदवार बनेका उनले १ हजार ४ सय ५२ मत ल्याए।

लेखराज एमाले पदाधिकारीमा अटाउने सुदूरपश्चिमका एक्ला नेता हुन। १०औँ महाधिवेशनमा सचिवमा निर्वाचित उनी यसपटक उपमहासचिवमा निर्वाचित भएका छन्। 

सुदूरपश्चिमबाट पदाधिकारीमा प्रतिस्पर्धा गर्ने अर्का नेता हुन्, कर्ण बहादुर थापा। ईश्वर पोखरेल प्यानलबाट सचिवमा भिडेका उनी पराजित भए।  

विगतका ओलीनिकट नै मानिने थापा केहीसमययता इतर कित्तामा उभिँदै नेतृत्व परिवर्तनको आवाज उठाउँदै आएका थिए। थापा केन्द्रीय सदस्यमा भने विजयी भएका छन्। 

माओवादी छोडेर ओलीलाई साथ, लेखराजलाई फलिफाप!
लेखराज माओवादी छोडेर एमालेमा समाहित भएका नेतामा पर्छन्। नेकपा विघटन भएर माओवादी र एमाले पूर्ववत् अवस्थामा फर्किएपनि लेखराजले एमालेमै रहेर ओलीको साथ दिए।

त्यसपछि ओलीले भीम रावललाई पाखा लगाउँदै लेखराजलाई च्याप्दै एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज नै बनाएका थिए।

१०औँ महाधिवेशनमा सचिव चुनिएका उनै लेखराज ११औँ महाधिवेशनमा चुनावमार्फत एमालेको उपमहासचिव निर्वाचित भए। 

पढाइका शिलशिलामा वि.सं. २०२८ सालतिर काठमाडौँमा रहेका बेला राप्ती पश्चिम कर्णालीको उत्पीडन र गरिबी अन्त्यका लागि उनी राजनीतितर्फ तानिएका थिए।

भट्टले वि.सं. २०३३ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। उनी वि.सं. २०३६ सालमा मोहनविक्रम सिंहले नेतृत्व गरेको चौथो महाधिवेशनमा जोडिए।

०३७ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ अखिल नेपाल युवक संघको अध्यक्ष हुँदा भट्ट केन्द्रीय सदस्य थिए। त्यस पछि उनले प्रचण्डनिकट भएर काम गर्ने अवसर पाए।

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल विभाजनताकाको धुव्रीकरणमा पनि भट्ट प्रचण्डसँगै थिए। माओवादी सशस्त्र जनयुद्धमा सुदूरपश्चिममा प्रचण्डका सारथि बनेर युद्धमा होमिए।

१० वर्ष लामो सशस्त्र युद्ध छोडेर माओवादी शान्तिमा आएपछि भट्टले वि.सं. २०६३ देखि माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशका इन्चार्जको जिम्मेवारी सम्हाले। 

वि.सं. २०७५ जेठ ३ गते माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण हुँदा लामो समयदेखि माओवादीको प्रदेश इन्चार्ज रहेका नेता भट्ट पाखा पारिएको थियो। 

नेकपा हुँदा सुदूरपश्चिमको इन्चार्ज डा. भीम रावललाई बनाइयो। भट्टलाई स्थायी कमिटी सदस्यमा सीमित राखिएको थियो।

त्यसपछि लेखराजले प्रचण्डसँग दूरी बढाउँदै ओलीतिर नजिकिएका थिए। तत्कालीन नेकपाको ध्रुवीकरणमा भट्ट ओली समूहमा लागे। अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइ दिएपछि भट्ट माओवादी केन्द्रमा फर्किएनन्। 

बरु प्रचण्डसँगको लामो सम्बन्धमा पूर्णविराम लगाउँदै सांसद त्यागेरै भए पनि एमालेमै रहने निर्णय गरेका थिए। ओलीलाई संकटमा साथ दिएका लेखराज अहिले एमालेमा सचिव हुँदै उपमहासचिवसम्म पुगेका छन्।

एमालेबाट निष्काशित भएपछि हाल नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध भीम रावलपछि सम्भवतः सुदूरपश्चिमबाट पदाधिकारीमा समेटिने लेखराज एक्ला नेता हुन्।

एमाले पूर्वउपाध्यक्ष समेत रहेका रावलले १० औं महाधिवेशनमा ओलीसँगै अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। 

लेखराज कैलाली ४ बाट संसदीय चुनाव लड्दै आएका छन्। श्रममन्त्री र वाणिज्य तथा आपूर्तिमन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेका छन्। 

को को बने केन्द्रीय सदस्य?
सुदूरपश्चिमबाट दर्जन बढी नेताले केन्द्रीय सदस्यमा जित निकालेका छन्। जसमा ओली पक्षकै बढी छन्।

खुला केन्द्रीय सदस्यमा लालबहादुर थापा, ऐनबहादुर महर, गणेशसिंह ठगुन्ना, झपटबहादुर बोहरा, झपटबहादुर रावल र दामोदर भण्डारी भण्डारी निर्वाचित भए। जससमध्ये रावलमात्रै ईश्वर पोखरेल प्यानलबाट चुनाव लडेका थिए।

महिलातर्फ सन्तोषकुमारी शर्मा थापा, कमला बोहरा र निरुदेवी पाल विजयी हुँदा अफिलाल ओखेडा र आशा विक दलित क्लस्टरबाट जित निकाल्न सफल भएका छन्। 

समावेशी थारुतर्फ कृपाराम राना र गौरीशंकर चौधरी विजयी भएका छन्। युवातर्फ नरेश रोकाया यसअघि नै सर्वसम्मत केन्द्रीय सदस्यमा चयन भइसकेका छन्। 

भूगोलको केन्द्रीय सदस्यमा भने गोविन्द गिरी, चक्रबहादुर मल्ल, पठानसिंह बोहरा, यज्ञबहादुर बोगटी, सहदेव बोगटी, लिलाधर भट्ट, लिलाकुमारी भण्डारी, कमलाकुमारी ओली, भागिरथी सिंह विजयी भएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad