राजनीति


रवि लामिछानेलाई शुक्रबार रुपन्देही लगिने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने

रवि लामिछानेलाई शुक्रबार रुपन्देही लगिने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने

नेपालखबर
पुस ३, २०८२ बिहिबार १९:५०, काठमाडौँ

नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भोलि शुक्रबार रुपन्देही अदालतमा उपस्थित गराइने भएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार रविसँग बिगो वापत जमानत लिएर रिहा गर्न आदेश दिएको हो। 

आदेश अनुसार उनलाई अब जिल्लामै उपस्थित गराउनु पर्ने र प्रक्रिया पूरा गरेर रिहा हुने उच्च अदालत तुलसीपुरका सूचना अधिकारी रामबहादुर कुँवरले बताए। 

उनका अनुसार रविले पहिल्यै बैंक जमानत बुझाइसकेकाले अब कागजी प्रक्रिया पूरा गर्न मात्रै बाँकी छ। उनले यसअघि जिल्ला अदालतमा जमानत लिएर रिहा गर्न माग गर्दै बैंक ग्यारेन्टी पनि बुझाएका थिए। तर जिल्लाले त्यसरी छाड्न नमिल्ने भन्दै अस्वीकार गरेको थियो। 

त्यसपछि रवि यही माग लिएर उच्च अदालत पुगेका हुन्। उच्च अदालतका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रविलाई विभिन्न सर्तसहित रिहा गर्न आदेश दिएको हो। 

आदेश अनुसार रविले जिल्ला अदालतले सुरुमा माग गरेको एक करोड धरौटी, बिगोबापतको २ करोड ७४ लाख ८४ हजार जमानत बुझाउनु पर्नेछ। यस्तै पछि फैसला हुँदा धरौटी र बिगोबापतको जमानतभन्दा बढी फैसला भएको खण्डमा पनि स्वीकार गर्नुपर्नेछ।

२०८१ माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर त्यसविरुद्ध दुवै पक्ष उच्च अदालत पुगेका थिए। उच्च अदालतले २०८१ चैतमा रविलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। 

त्यसपछि उनलाई भैरहवा कारागार चलान गरिएको थियो। उनले आफूलाई कारागार सरुवा गर्न माग गर्दै निवेदन दिएपछि उनलाई रुपन्देही कारागारबाट साउन ३१ गते काठमाडौँ कारागार सरुवा गरिएको थियो। त्यसपछि लामिछाने नक्खु कारागारमै छन्। 

सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूले सहकारीको ५५ करोड रुपैयाँ भन्दा बढी रकम अपचलन गरेको अभियोग छ।

रवि, छवि र जीबीसहित चार जनाले यसमध्ये १० करोड ९९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ। रविले यही बिगो भाग लगाउँदा आफ्नो भागमा पर्ने जम्मा गरेर रिहा गर्न माग गरेका थिए। जसलाई उच्च अदालतले स्वीकार गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad