नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले ‘केपी ओलीबिनाको एमाले’ भन्ने प्रतिक्रियावादी प्रयास असफल भएको बताएका छन्।
बिहीबार एमालेको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘केपी ओली बिनाको एमाले भन्ने जुन प्रतिक्रियावादीहरूको चेष्टा थियो, त्यसलाई तपाईंहरूले ध्वस्त पार्नुभएको छ।’
पार्टी नेतृत्वमा पुनः विश्वास व्यक्त गरिएकोप्रति आभार प्रकट गर्दै उनले यो प्रक्रिया नियमित लोकतान्त्रिक अभ्यास भएको उल्लेख गरे। ‘यो नियमित प्रक्रिया हो, मेरो इतिहास हेरेर तपाईंहरूले फेरि जुन विश्वास दिनुभएको छ, त्यसका लागि म तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु,’ ओलीले भने।
संकटका बेला पार्टीलाई अघि बढाएको नेतृत्वको मूल्यांकन भएको भन्दै उनले थपे, ‘मैले पार्टीलाई अप्ठ्यारोमा परेका बेला चक्रब्यूह तोडेर अगाडि बढाउने नेतृत्व गर्दै आएको छु, त्यसको तपाईंहरूले उचित मूल्यांकन गर्नुभएको छ।’
ओलीले पार्टी पंक्तिले दिएको विश्वास कायम राख्ने प्रतिबद्धता जनाउँदै भने, ‘तपाईंहरूले गर्नुभएको विश्वास तलमाथि हुन दिइने छैन।सबै प्रकारका हमलाहरूको हामी सामना गर्नेछौँ।’
Shares

प्रतिक्रिया