टिप्पणी-
नेकपा (एमाले) को इतिहासमा अनेकौँ पात्रहरू आए र गए। तर एमालेमा एउटा नाम यस्तो छ, जो संकटको डटेर सामाना गर्छ, चुनौतीलाई अवसरमा बदल्ने क्षमता राख्छ।
त्यो नाम हो, केपी शर्मा ओली। एमालेको ११औँ महाधिवेशनबाट तेस्रो पटक अध्यक्षमा निर्वाचित भएर ओलीले आफूलाई केवल एक नेताका रूपमा मात्र होइन, एउटा रणनीतिक राजनीतिज्ञको रुपमा पनि स्थापित गरेका छन्।
२०७१ सालको नवौँ महाधिवेशनबाट नेतृत्व सम्हालेका ओलीले यसपटक आफ्नै ‘कन्टेम्प्रोरी’ नेता ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गरेका छन्। कुल खसेका २ हजार २ सय २७ मतमध्ये ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गर्दा पोखरेलको पक्षमा ५६४ मत मात्रै खस्यो।
यो महाधिवेशनबाट उनको ह्याट्रिकले केही नयाँ तथ्यहरू पनि पुष्टि गरेका छन्। ओलीलाई जति कमजोर बनाउन खोजिन्छ, उनी त्यति नै शक्तिशाली भएर निस्किन्छन्। ७३ वर्षको उमेरमा निर्वाचन सामना गरेका ओलीको यो ह्याट्रिक विजयले एमाले र नेपाली राजनीतिमा उनको सामर्थ्यको एउटा परीक्षण पनि हो। उनी त्यसमा अब्बल सावित भएका छन्। यो विजयको अर्को सन्देश पनि छ- उनले चाहेसम्म एमालेको नेतृत्व ओलीकै हो।
ओलीको अध्यक्ष यात्रा
२०७१ सालमा भएको एमालेको नवौँ महाधिवेशनबाट पहिलो पटक नेतृत्व सम्हालेपछि ओलीको पार्टीभित्रको यात्रा निकै रोचक र उतारचढावपूर्ण देखिन्छ। पार्टी सञ्चालनका सन्दर्भमा उनका यी पक्ष उत्तिकै रोचक र स्मरणीय पनि छन्।
त्यतिबेला माधवकुमार नेपाललाई झिनो मतान्तरले पराजित गर्दै अध्यक्ष बनेका ओलीले सुरुका दिनमा पार्टीभित्रै अल्पमतको सामना गरेका थिए। स्थायी कमिटी र पोलिटब्युरोमा नेपाल पक्षको वर्चस्व हुँदाहुँदै पनि उनले आफ्नो निर्णय क्षमतामा ह्रास आउन दिएनन्।
एमालेको परम्परागत कमिटी प्रणाली र लामो बहसको प्रक्रियालाई छोट्याउँदै ओलीले पार्टीलाई ‘डेलिभरी’ र ‘एक्सन’ ओरिएन्टेड बनाउन जोड दिए। यसले पार्टीभित्र एकथरिलाई असन्तुष्ट बनाए पनि कार्यकर्तामा भने नयाँ उत्साह भरिदियो।
चितवनमा भएको दशौँ महाधिवेशनबाट ओली दोस्रो पटक पार्टी अध्यक्ष भएका थिए। त्यो बेला पनि विधानलाई आफू अनुकूल परिवर्तन गर्न उनी सफल भएका थिए। विजयको त्यो फर्मुला यो पटक पनि प्रयोग गरे- महाधिवेशन ठीक अगाडि विधान परिवर्तन गर्न उनी सफल भए।
चितवनमा भएको १०औं महाधिवेशनमा ओलीमाथि ‘टिके प्रथा’ चलाएको र आन्तरिक लोकतन्त्रलाई नियन्त्रण गरेको आरोप लागेको थियो। यसपटक ११औं महाधिवेशनमा उनले फरक रणनीति अपनाए। ‘खल्ती’बाट सूची घोषणा गरेनन्। चुनावी प्रतिस्पर्धाबाट आफ्नो पार्टीगत पकड सिद्ध गरे। यो परिणामले एमालेको संगठन र कार्यकर्तामा ओलीको प्रभाव अझै पनि अभेद्य रहेको पुष्टि गरेको छ।
माओवादीसँग ‘मास्टरस्ट्रोक’ एकता
एमाले र माओवादीबीचको एकता ओलीको राजनीतिक जीवनको सबैभन्दा ठूलो र जोखिमपूर्ण प्रयोग थियो। पार्टीभित्रका कतिपय हस्ती सशंकित हुँदाहुँदै पनि उनले कम्युनिस्ट शक्तिलाई एक ठाउँमा ल्याए र एमालेको इतिहासकै सबैभन्दा ठूलो साङ्गठनिक स्वरूप नेकपा निर्माण गरे। फरक यति हो त्यो एकीकरण लामो समय जान सकेन।
नेकपाको विघटन र एमालेभित्रको फुटपछि धेरैले ओली कमजोर हुने लख काटेका थिए। उनले ‘एमालेको ब्रान्ड’ र ‘ओलीको व्यक्तित्व’लाई यसरी फ्युजन गरिदिए कि पार्टी फुट्दा समेत कार्यकर्ताको ८० प्रतिशतभन्दा बढी हिस्सा उनीसँगै रह्यो। माओवादी पृष्ठभूमिका व्यक्तिसमेत एमालेमै रहे।
यो महाधिवेशनबाट ओली महेश बस्नेत जस्ता युवादेखि अनुभवी नेतासम्मलाई एउटै मालामा गाँस्न सफल भएका छन्। तर अझै प्रश्न बाँकी छ- अब ओलीले कसरी पार्टी चलाउनेछन् ? एमालेलाई एकताबद्ध बनाएर, आफूसँग चुनाव लडेका नेताहरूलाई समेटेर सँगै लैजालान् अथवा पहिलेकै शैलीमा असहमत पक्षलाई पेल्ने र आफू वरिपरि घुम्नेलाई काँध चढाउने गर्लान्?
यी दुई प्रश्नको व्यावहारिक जवाफले ओलीको पार्टीगत योगदान प्रस्ट्याउनेछ। विगतमा माधवकुमार नेपल र अरू नेताले पर्टी छोडेर जाँदा परेको खाडललाई ओलीले एक हदसम्म पुर्न सफल भएका छन्। तर अझै पनि एमालेभित्र उनको विचारसँग सहमत नहुने तप्का ठूलै छ। त्यो सार्वजनिक नै छ। तेस्रो पटक अध्यक्ष बनेका ओलीसँग यो विषयले पनि परीक्षा लिनेछ।
महाधिवेशनले ओलीलाई थप ५ वर्षका लागि नेतृत्व दिए पनि कतिपय विषयका कारण उनको आगामी यात्रा सहज देखिँदैन। संगठन सुदृढीकरण, आन्दोलनले उठाएका प्रश्न र शासकीय अव्यवस्थाका दागहरू मेटाउनु उनको मुख्य चुनौती हुनेछ। आफूलाई मत नदिने वा फरक समूहमा रहेका नेताहरूलाई समेटेर पार्टीलाई एकताबद्ध राख्नु ओलीको अबको मुख्य दायित्व हो।
ओली अध्यक्ष हुनुको अर्थ एमालेभित्र मात्र नभई राष्ट्रिय राजनीतिमा पनि महत्त्वपूर्ण छ। एमालेका धेरै कार्यकर्ताको अपेक्षा छ- आगामी निर्वाचनमा पार्टीलाई बहुमतका साथ सत्तामा फर्काउन सफल हुनुपर्ने जिम्मेवारी पनि ओलीको काँधमा आएको छ।
तेस्रो विजयको अर्थ राष्ट्रिय राजनीतिमा हुनेछ। राष्ट्रिय चुनावमा एमाले पार्टी उनकै नेतृत्वमा मैदानमा उत्रिने हो। त्यसले पार्टीको मात्र होइन, देशकै मार्गचित्रमा फरक पार्नसक्छ। निःसन्देह अहिले पनि उनी नेपाली राजनीतिको केन्द्रविन्दू हुन्।
Shares

प्रतिक्रिया