नेकपा (एमाले) को ११औँ महाधिवेसनमा भएको विद्युतीय मतदानको प्रारम्भिक मत परिणाम आउन थालेको छ भने केपी शर्मा ओली प्यानलका केही उम्मेदवार पछि परेका छन्।
उपाध्यक्षमा ईश्वर पोखरेल टिमबाट उम्मेदवार बनेका गोकर्ण विष्टले अग्रता लिएका छन्। ५ जना उपाध्यक्षका लागि भएको निर्वाचनमा प्रारम्भिक परिणाम अनुसार विष्ट चौथो स्थानमा छन्।
उनले ओली टिमका उम्मेदवार रघुजी पन्त र गुरुप्रसाद बराललाई पछि पारेका छन्। पछिल्लो मत परिणाम अनुसार पृथ्वीसुब्बा गुरुङ ९०० मतसहित अग्रस्थानमा छन्। विष्णुप्रसाद पौडेलले ८४६ मत पाउँदा रामबहादुर थापा बादलले ७७४ मत पाएका छन्।
पोखरेल प्यानलका विष्टको ७१३ मत छ। रघुजी पन्तको ६१७ र गुरुप्रसाद बरालको ५८५ मत छ। बराल र पन्त ओली प्यानलका हुन्। विष्टले अन्तिसम्म यो अग्रता कायम राख्न सके उनीहरूमध्ये एक जना बाहिरिने देखिएको छ।
पन्तलाई भने ओली समूहले उम्मेदवारी दर्तापछि मात्रै आफ्नो टिमको उम्मेदवार बनाएको थियो। यसअघि प्रदीप ज्ञवालीलाई उपाध्यक्षमा उम्मेदवार बनाउने तयारी भए पनि उनले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएपछि स्वतन्त्र उम्मेदवारी दिएका पन्त ओली टिममा तानिएका थिए। पोखरेलको टिमका अरु उम्मेदवार भने पछि परेका छन्।
अरु कसको मत कति ?
विन्दा पाण्डे : ४७४
अरुण नेपाल : २२३
टकंप्रसाद कार्की : १८६
पर्शुराम मेघि गुरुङ : २३४
भीमप्रसाद आचार्य : १४३
अहिलेसम्म १ हजार १३९ मत गणना भएको छ भने अझै १ हजार ८८ मत गणना गर्न बाँकी छ। एमाले महाधिवेशनमा २ हजार २६३ मतदाता थिए भने २ हजार २२७ मत खसेका थिए।
Shares

प्रतिक्रिया