नेकपा (एमाले)को एघारौँ महाधिवेशनमा मतदान सुरु हुनुअघि अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल महाधिवेशन स्थलमा पुगेका छन्।
दुवै जना मंगलबार साँझ साढे ७ बजे काठमाडौँको भृकुटीमण्डपस्थित महाधिवेशनल स्थलमा पुगेका हुन्। मतदानको विषयमा छलफल गर्न ओली र पोखरेल आएको एमाले नेता शेरधन राईले बताए।
मतदान स्थलमा के कस्ता सामग्री लग्न दिने र नदिने भन्ने विषयमा छलफल गर्न लागिएको राईले बताए। ‘मोबाइल लैजान दिने कि नदिने, अरु के के विधि बनाउने भनेर छलफल भएको हो,’ उनले नेपालखबरसँग भने।
एमाले महाधिवेशनमा मतदानको तयारी भइरहेको छ। आजै रातिदेखि मतदान सुरु गरिने एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
अध्यक्षमा ओली र पोखरेल उम्मदवार बनेका छन्। दुवै नेताले प्यानल नै बताएका छन्। ओली पक्षबाट शंकर पोखरेल र ईश्वर पक्षबाट सुरेन्द्र पाण्डेय महासचिवका उम्मेदवार छन्।
एमाले केन्द्रीय नेतृत्वका लागि ३ सय १ पदमा साढे ६ सयभन्दा बढी उम्मेदवार छन्। महाधिवेशनमा २ हजार २ सय ६३ मतदाता रहेका छन्।
विद्युतीय भोटिङ मेसिनबाट मतदान हुने भए पनि धेरै उम्मेदवार रहेकाले मतदान सम्पन्न हुन कम्तिमा १० घण्टा लाग्ने आयोगका सचिव डा. कुन्साङ लामाले जनाएका छन्। उनका अनुसार, मतदान सकिए लगत्तै मतगणना सुरु हुनेछ।
Shares

प्रतिक्रिया