नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा दुई जना उम्मेदवार अध्यक्षको प्रतिस्पर्धामा छन्। मतदानको समय नजिक आइरहँदा दुवै समूहले महाधिवेशन प्रतिनिधिका हातमा प्यानलको सूची पुर्याएका छन्।
केपी शर्मा ओली एमालेका दुई पटक अध्यक्ष भइसकेका उम्मेदवार हुन्। उनी अहिले तेस्रो कार्यकालका लागि पनि अध्यक्षको उम्मेदवार बनेका छन्। उनी बरिष्ठ नेता नै हुन् तर वितरित सूचीअनुसार उनलाई २ नम्बरमा मतदान गर्न भनिएको छ।
यस्तो किन भयो? मतपत्र स्याम्पलअनुसार, नम्बरको अर्डर बनाइएको हो। आफ्नो समूहलाई भोट हाल्नका लागि वितरण गरेको उम्मेदवारको सूचीमा ओली पक्षले नामसँगै नम्बर पनि राखेको छ। यसमा उम्मेदवारी दर्ताको नम्बर उल्लेख गरिएको हो।
अध्यक्षमा ईश्वर पोखरेलले पहिले उम्मेदवारी दिएका थिए। उनको नम्बर एक रहेको छ।
त्यसपछि ओलीले उम्मेदवारी दिएका थिए। उनी दोस्रो नम्बरमा छन्। त्यसैले उनले मतदानका लागि सूची जारी गर्दा २ नम्बर पनि उल्लेख गरेका हुन्।
महासचिवमा सुरुवातमा शंकर पोखरेलले उम्मेदवारी दिएका थिए। उनको नम्बर १ रहेको छ।
त्यसपछि सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराएका थिए। उनको उम्मेदवार नम्बर २ छ।
आफ्नो पक्षका उम्मेदवारलाई मतदान गर्दा अलमल नहोस् भनेर ओली पक्षले उम्मेदवारको नामसँग नम्बर पनि राखेर प्रचार गरिरहेको छ।
अर्का अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले भने आफ्नो प्यानलको नाम मात्रै राखेर उम्मेदवारको सूची बनाएको छ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार, आज साँझबाट मतदान सुरु हुनेछ। केही प्राविधिक विषय मिलाउन पर्ने भएकाले मतदानमा ढिलाइ भएको आयोगले जनाएको छ।
Shares

प्रतिक्रिया