नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न आज मंगलबार हुनुपर्ने मतदान निर्धारित समयभन्दा ढिलो सुरु हुने भएको छ। प्रक्रियागत सबै विषय टुंगो नलागेपछि मतदानको समय ढिलो हुने भएको हो।
यसअघि आज ३ बजे मतदान सुरु हुने भनेर समय तय भएको थियो। अब त्यो समय ४ अथवा ५ बज्न सक्नेछ। एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव कुन्साङ लामाका अनुसार ‘प्राविधिक’ कठिनाइ भइरहेकाले मतदान सुरु हुने मिति पर सर्न लागेको हो।
‘तीन बजे भनेको ठाउँमा ४ बजे सुरु हुनसक्छ। ५ बजे भए पनि हामी सुरु चाहिँ गर्छौं’, सचिव लामाले नेपालखबरसँग भने।
मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछन्। मतदान सकिन ६ देखि ७ घण्टा लाग्ने अनुमान निर्वाचन आयोगको छ।
निर्वाचन कार्यक्रम भृकुटीमण्डपमा हुँदैछ।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र वर्तमान बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ।
पाँच जना उपाध्यक्ष, एक जना महासचिव तीन उपमहासचिव पदका लागि मतदान हुनेछ। यसैगरी ९ सचिव, ३३ स्थायी कमिटी सदस्य र ९९ पोलिट्ब्युरो र ३ सय १ जना केन्दीय सदस्यका लागि निर्वाचन हुनेछ।
केन्द्रीय सदस्यमा ११ जना निर्विरोध निर्वाचित भइसकेका छन्। अनुशासन र लेखा आयोगका ६ जना पदाधिकारी पनि निर्विरोध भइसकेका छन्। यी बाहेक अरू पद चयन गर्न मतदान हुनेछ।
Shares

प्रतिक्रिया