राजनीति


एमालेको एघारौँ महाधिवेशन चलिरहँदा भीम रावलले सम्झिए दसौँ महाधिवेशन

एमालेको एघारौँ महाधिवेशन चलिरहँदा भीम रावलले सम्झिए दसौँ महाधिवेशन

नेपालखबर
पुस १, २०८२ मंगलबार १३:४३, काठमाडौँ

काठमाडौँको भृकुटीमण्डपमा नेकपा एमालेको एघारौँ महाधिवेशन चलिरहँदा दसौँ महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका हाल नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले त्यस बेलाको घटना सम्झिएका छन्।

सहमतिका लागि गरिएको व्यापक आग्रहलाई पनि अस्वीकार गर्दै ओलीलाई चुनौती दिएकै कारण पार्टीभित्र क्रमश: पाखा लगाइएका रावललाई अन्तत: एमालेले २०८१ पुस १० गते साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो। त्यसपछि ‘मातृभूमि जागरण अभियान, नेपाल’ घोषणा गरेका उनी हालै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित झन्डै डेढ दर्जन वाम दलको एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएका हुन्।

त्यसपश्चात् गृहप्रदेश सुदूरपश्चिममा भएको नेपाली कम्युनिस्ट पार्टीको सभामा झुक्किएर ‘आउने निर्वाचनमा नेकपा एमालेको बहुमतलाई कसैले रोक्न नसक्ने’ भनेका भीम रावलले अझै एमालेसँगका तीतामिठा क्षण बिर्सिन सकेका छैनन्।

यसैबीच एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुनै लाग्दा मंगलबार उनले नाम नलिईकन इतर समूहबाट अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलका पक्षमा मत मागेका छन्। 

‘एमालेमा रहँदा दसौँ महाधिवेशनमा मैले विधि, पद्धति, स्वच्छ निर्वाचन, सिद्धान्त र राष्ट्रियताको पक्षमा अडेर अध्यक्ष पदमा उम्मेदवारी दिँदा कतिपयले केपी ओलीसँगको व्यक्तिगत इबी र विरोधको रूपमा चित्रित गर्ने चेष्टा गरेका थिए। मेरो उद्देश्य  पार्टीलाई विधि, पद्धतिअनुरूप देशको सर्वोपरी हितको दिशामा अगाडि बढाउने र  महाधिवेशनमा निर्वाचन स्वच्छ वातावरणमा भई प्रतिनिधिहरूले चुन्ने र चुनिन पाउने अधिकारको निर्वाध उपयोग गर्ने स्थिति बनोस् भन्ने थियो। तर ओलीबाट त्यो प्रक्रिया अवरुद्ध पारियो’, रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले घटनाक्रमबाट त्यसबेला मैले उठाएको कुरा कति  सही रहेछ भन्ने स्पष्ट भएको छ। अहिले धेरैले केपीको निरंकुश, स्वेच्छाचारी प्रवृत्ति र व्यवहारलाई स्वयं भोगेका र देखेका छन्। अतः एमालेको एघारौँ महाधिवेशन त्यस्तो प्रवृत्ति र व्यवहारबाट पार्टीलाई मुक्त गर्दै स्वयं पार्टी, देश र जनताको हितमा संगठनलाई उपयोगी बनाउने अवसरको रूपमा प्रतिनिधिहरूले उपयोग गर्न सके भने उचित हुनेछ।’

२०७८ मंसिर १० देखि १३ गतेसम्म चितवनको सौराहामा भएको एमालेको दसौँ महाधिवेशनमा ओली १८३७ मतसहित अध्यक्षमा विजयी हुँदा रावलका पक्षमा २२३ मत मात्र आएका थिए। त्यतिबेला रावल एकल रूपमा अध्यक्ष उठेका थिए। 

तर अहिले एघारौँ महाधिवेशनमा ईश्वर पोखरेलले ओलीलाई प्यानलसहित चुनौती पेस गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad