नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११ औँ महाधिवेशनमा आफ्नो प्यानलबाट उठाउने पदाधिकारीको सूची तयार पारिसकेको नेताहरूले बताएका छन्। विभिन्न पदमा उठ्न चाहेका नेताको विवरण लिन आफ्ना विश्वासपात्र नेतालाई लगाएका ओलीले आइतबार बेलुका त्यसलाई अन्तिम रुप दिएको उनीहरूको भनाइ छ।।
समन्वय संयन्त्रले उम्मेदवार बन्न चाहने नेताहरूको सूची र उम्मेदवार नउठ्नेहरूको नामावली तयार पारेको थियो।
शनिबार राति अबेर सुरुवाती सूची ओलीलाई बुझाइसकेको एक नेताले जानकारी दिए। जसमा पदाधिकारीमा ल्याउनैपर्ने नेता, केन्द्रीय समितिमा ल्याउनैपर्ने नेताको नाम उल्लेख छ।
सोही आधारमा उनले विधान संशोधन गराएर पदाधिकारी संख्या १९ जना कायम गराएका छन्। यस्तै, केन्द्रीय समिति पनि ३०१ बनाउन सफल भएका छन्।
भदौ २०–२२ मा ललितपुरमा भएको विधान महाधिवेशनले पदाधिकारी संख्या १५ मा झार्ने, स्थायी कमिटी नराख्ने र केन्द्रीय समिति पनि २५१ जनामा सीमित गर्ने निर्णय गरेको थियो।
तर, सबैतिर संख्या घट्दा आफ्नो समूहका नेता व्यवस्थापन गर्न गाह्रो भएपछि ओलीले शुक्रबार बसेको सचिवालय बैठकमा ४ जना पदाधिकारी बढाउने र केन्द्रीय समिति पनि बढाएर ३ सय १ पुर्याउने प्रस्ताव ल्याएका थिए।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे तथा सचिवद्वय गोकर्ण विष्ट र योगश भट्टराईले असहमति जनाएपछि ओली पछि हटेका थिए।
तथापि, आइतबारदेखि सुरु भएको बन्दसत्रअघि उनले आफ्नो बहुमत रहेको केन्द्रीय कमिटीको बैठक बोलाएर त्यसलाई पास गराए।
‘सचिवालय बैठकको निर्णय केन्द्रीय कमिटीले उल्ट्यायो,’ प्रचार एवं प्रकाशन विभाग प्रमुख समेत रहेका स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले भने।
त्यसको विरोधमा उपाध्यक्षहरू ज्ञवाली र शाक्य उत्रिए। उनीहरूले एमालेको सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरे।
अध्यक्ष ओलीले संख्या अझै बढाएर मिल्न प्रस्ताव राखेका थिए। तर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि विधान संशोधन नमान्ने बताए। बरु उनले अध्यक्षमा उम्मेदवारी दिने भन्दै ओलीलाई अभिभावक भएर बस्न आग्रह गरे।
ओलीले तत्काल चुनावी कार्यतालिका ल्याउन निर्वाचन कमिटीलाई निर्देशन दिए। किनकि, विधान संशोधन गराएपछि ओलीका लागि नेता व्यवस्थापन सहज भइसकेको छ।
‘धेरै आकांक्षीबाट थोरैको सूची तयार पारेर अध्यक्षलाई बुझाइसकेको छ,’ ती नेताले नेपालखबरसँग भने, ‘सोमबार बिहानसम्म अन्तिम सूची तयार भइसक्छ।’
सोही आधारमा मनोनयन गराउन सन्देश पठाइने ती नेताले जानकारी दिए।
‘यो–यो पदमा उम्मेदवारी दिनु भनेर हाम्रो च्यानलबाट सूचना आउँछ, त्यसका लागि तल समन्वय गर्ने मेकानिज्मले काम गर्छ,’ पदाधिकारी समेत रहेका ती नेताले थपे।
ओलीले महत्वपूर्ण पदमा अहिले भएकैलाई दोहोर्याउने छन्। तीन जना उपाध्यक्ष र महासचिव पनि दोहोर्याउने निश्चित भएको नेताहरू बताउँछन्।
‘महासचिव बन्न खोजेका २ जनालाई उपाध्यक्ष बढुवा गरिन्छ, त्यसो गर्दा उपमहासचिव २ जना खाली हुन्छ,’ ओलीका विश्वासपात्र अर्का नेताले भने, ‘सचिवबाट २ जनालाई उपमहासचिव बनाउने र बाँकी रिक्त सचिव पदमा स्थायी कमिटी र पोलिटब्युरोबाट ल्याउने भन्ने छ।’
एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले आइतबार निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेका छन्। जसअनुसार, सोमबार बिहान ९ बजेदेखि उम्मेदवारलाई फाराम वितरण गरिनेछ भने दिउँसो १ः३० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।
उम्मेदवारको अन्तिम नामावली सोमबार बेलुका ६ बजे प्रकाशन गर्ने कार्यतालिका छ। नयाँ नेतृत्व चयन गर्न आगामी पुस १ गते निर्वाचन हुँदैछ।
ओलीले प्रक्रिया पूरा गरेर उम्मेदवारी दर्ता गर्न आफ्ना पक्षका नेतालाई निर्देशन दिनेछन्।
उता वरिष्ठ उपाध्यक्ष पोखरेल पक्ष पनि रणनीति तय गर्न छलफलमै छ।
‘अब सबै पदमा उम्मेदवारी दिएर जाने भन्ने भएको छ, आयोगमा पनि उम्मेदवारी दिने,’ पोखरेल पक्षमा खुलेका एक पदाधिकारीले भने, ‘भोलि बिहानसम्म नाम सूची तयार हुन्छ।’
ओलीले ल्याउने नाम हेरेर मात्र उम्मेदवारी दिने रणनीतिमा पोखरेल पक्ष थियो। तर, अब एकैपटक मनोनयन भएपछि मात्र कुनकुन पदमा कसरी मिलाउने छलफल हुने ती नेता बताउँछन्।
Shares

प्रतिक्रिया