झापा कांग्रेसभित्र वंशवाद र नेताका छोराहरूलाई अघि सार्ने प्रवृत्तिबारे आन्तरिक विवाद थप गहिरिएको छ। हालै प्रतिनिधि सभा क्षेत्र नं ३ मा पूर्वगृहमन्त्री कृष्ण सिटौलाले छोरालाई अघि सारेपछि कांग्रेस झापा हुँदै केन्द्रसम्म नेताहरूबीच बहस चर्किएको हो।
आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ का लागि नेपाली कांग्रेसले पूर्वगृहमन्त्री कृष्ण सिटौलाका छोरा श्यामप्रसाद सिटौलालाई उम्मेदवारको रूपमा सिफारिस गरेको छ। कांग्रेस क्षेत्रीय समिति झापा–३ ले श्यामप्रसादको नाम सिफारिस गर्दै सूची केन्द्रमा पठाएको हो।
तरुण दलका केन्द्रीय सदस्य रहेका श्यामप्रसादको नाम सिफारिस गर्न कृष्णप्रसाद सिटौलाले दबाब दिएको आरोप लागेको छ। श्यामप्रसादको सिफारिसका विषयमा झापाको कांग्रेसभित्र दुई धार देखिएको छ। एक समूहले नेताका छोराहरूले पनि पार्टीमा योगदान गर्न सक्छन्, परिवारसँग जोडेर हेर्नु उपयुक्त होइन भन्दै समर्थन जनाइरहेका छन्।
अर्कोतर्फ असन्तुष्ट समूहले भने बाबुको नामलाई उपयोग गरेर राजनीतिमा प्रवेश गर्नु परिवारवादको उदाहरण भएको आरोप लगाएको छ।
कांग्रेस जिल्ला तहका नेताहरू यसपालि आफू अघि नबढी छोरालाई अघि सारेको गुनासो गर्छन्।
यसअघि क्षेत्र नम्बर ३ बाट पटक–पटक प्रतिस्पर्धामा उत्रिएका कृष्ण सिटौला यसपटक भने सिफारिस सूचीमा राखिएको छैन। पछिल्ला दुई चुनावहरू (२०७४ र २०७९) मा उनी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए।
स्रोतका अनुसार, सिटौलाले संगठनभित्रको आलोचना बढे पनि अन्तिम समयमा छोरालाई अघि सार्ने निर्णय लिएका छन्।
‘पार्टीको केन्द्रीय परिपत्र अनुसार आफू उम्मेदवार हुन नपाउने भएपछि सिटौलाले छोरालाई अगाडि सार्नुभएको हो,’ एक स्थानीय नेताले भने, ‘नेताले आफ्ना छोरा, बुहारी, छोरीलाई अगाडि सारेका विषय लामो समयदेखि हुँदै आएको छ, यो राम्रो हैन।’
श्यामप्रसादसँगै सो क्षेत्रमा टीकाराज ढकाल, सीताराम खड्का, राजेन्द्र घिमिरे, देउप्रसाद लावुङ लिम्बू, नवीन विमली, भगिरथ पोद्धार र शर्मिला अधिकारीको नाम पनि सिफारिस भएको छ।
यस्तै, झापा क्षेत्र नम्बर २ मा संविधानसभा सदस्य सुधीर सिवाकोटीका छोरा सजेस शिवाकोटी पनि प्रतिनिधि सभा उम्मेदवारका रूपमा सिफारिस भएका छन्। सामाजिक संघ–संस्थामा सक्रिय रहँदै आएका सजेस कांग्रेसभित्र नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने नेताका रूपमा चिनिन्छन्।
Shares

प्रतिक्रिया