पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर जनार्दन शर्मातिर लागेका पूर्व माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय टेकबहादुर बलम्पाकी र सीता दाहाल फेरि प्रचण्डतिरै फर्किएका छन्। बलंपाकी र दाहाल पतिपत्नी हुन्।
उनीहररुले शुक्रबार प्रचण्डलाई भेटेर आफूहरू फेरि नेपाली कम्युनिस्ट पार्टीमै फर्किएको जानकारी गराएका प्रचण्डको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए।
गएको कात्तिक २९ गते बलंपाकी र दाहालले वक्तव्यमार्फत् माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका वाम घटक मिलेर बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ मा आवद्ध नहुने निर्णय गर्दै जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा लाग्ने घोषणा गरेका थिए।
महोत्तरी स्थायी घर भएका बलम्पाकी र दाहाल तीन वर्षअघि मात्रै एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए। नेकपा छाडेर शर्मातिर लागेका उनीहरूले २८ दिनमै जनार्दनलाई पनि छाडेका हुन्।
नेपाली कम्युनिस्ट पार्टीका नेता गिरीराजमणि पोखरेलसँगै प्रचण्ड निवास पुगेका उनीहरूले आफूहरु पुनः नेकपामै फर्किएको जानकारी गराएका आचार्यले बताए।
नेता पोखरेलले भने आफू प्रचण्डलाई जन्मदिनको शुभकामना दिन निवासमा पुगेको जानकारी दिए।
‘नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड प्रचण्डलाई आज उहाँकै निवासमा हामी भेट्न गएका थियौँ। आजै उहाँको जन्म दिवस रहेछ। जन्मदिनको हार्दिक शुभकामना,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्।
Shares

प्रतिक्रिया