राजनीति


महाधिवेशनको अघिल्लो दिन एमाले सचिवालय बैठक बस्दै, हुन सक्छ ओली-पोखरेल पक्षबीच रस्साकस्सी

महाधिवेशनको अघिल्लो दिन एमाले सचिवालय बैठक बस्दै, हुन सक्छ ओली-पोखरेल पक्षबीच रस्साकस्सी

नेपालखबर
मंसिर २६, २०८२ शुक्रबार ८:१५, काठमाडौँ

एघारौँ महाधिवेशन सुरु हुनु अघिल्लो दिन आज (शुक्रबार, मंसिर २६ गते) नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। एमाले महाधिवेशन भोलि मंसिर २७ देखि हुँदै छ। 

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालखबरलाई दिएको जानकारीअनुसार सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे सुरु हुनेछ। 

बैठकका प्रमुख एजेन्डा विधान संशोधन र महाधिवेशन प्रतिनिधि मनोनयन हुन्। 

एमालेले विधान संशोधन गरेर पदाधिकारी संख्या र केन्द्रीय समितिको आकार बढाउने तयारी गरेको छ।

हालको एमाले विधानमा पदाधिकारी संख्या १५ मात्र सीमित गरेको छ। 

गत भदौ २०-२२ सम्म ललितपुरमा भएको एमालेको दोस्रो विधान महाविधेशनले पहिलेको पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा झारेको हो। 

यस्तै स्थायी कमिटी नराख्ने, पोलिटब्युरोको संख्या घटाउने र केन्द्रीय समितिको सदस्य संख्यासमेत ३०१ बाट घटाएर २५१ मा झारेको छ।

अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहबाट पदाधिकारी बन्ने आकांक्षी धेरै भएपछि विधान संशोधन गरेर व्यवस्थापन गर्न लागेका हुन्। 

यता अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले भने सचिवालय बैठकमा विधान संशोधनको कुरा उठे २ कार्यकाल र ७० वर्षे उमेर हदको प्रावधान ब्युँताउने पर्ने प्रस्ताव लाने तयारी गरेको छ। 

गत सोमबारै सचिवालय बैठक राख्ने तयारीमा रहेका अध्यक्ष ओली वरिष्ठ उपाध्यक्ष पोखरलले अवधारणापत्र बुझाएकै कारण रोकिएका थिए।

पोखरेल पक्षले सचिवालय बैठकमा अवधारणापत्रका विषयमा पनि कुरा उठाउने भएपछि उनले बैठक ३ दिनलाई स्थगन गरेका थिए।

एमालेको सचिवालय बैठक एघारौँ महाधिवेशन उद्घाटनको अघिल्लो दिन बस्न लागेको हो। एमालेको ११ औँ महाधिवेशन भोलि शनिबार अर्थात् मंसिर २७ गते सुरु हुँदै छ। 

एमाले महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा हुनेछ भने बन्दसत्र मंसिर २८ र २९ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad