राजनीति


सभापति देउवालाई भेट्न काठमाडौँ आएका मुख्यमन्त्री नफर्किँदा मधेसको सर्वदलीय बैठक स्थगित

सभापति देउवालाई भेट्न काठमाडौँ आएका मुख्यमन्त्री नफर्किँदा मधेसको सर्वदलीय बैठक स्थगित

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव र विनाविभागीय मन्त्री जंगिलाल राय


नेपालखबर
मंसिर २४, २०८२ बुधबार १०:५०, काठमाडौँ

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव काठमाडौँबाट नफर्किएपछि आज जनकपुरमा हुने भनेको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ। 

मुख्यमन्त्रीसहितका कांग्रेस नेता काठमाडौँबाट नफर्किएकाले आजको बैठक अर्को दिनको लागि सरेको मधेसका अर्थमन्त्रीसमेत रहेका जनमत पार्टीका नेता महेश यादवले जानकारी दिए। 

कांग्रेसका नेतासमेत रहेका मुख्यमन्त्री यादव सभापति शेरबहादुर देउवासहितका शीर्ष नेतालाई भेट्न मंगलबार काठमाडौँ आएका थिए। 

मुख्यमन्त्री यादवसँगै मधेस प्रदेशका अर्का मन्त्री तथा कांग्रेस नेता जंगिलाल राय पनि अहिले काठमाडौँमै छन्। 

उनीहरुले मंगलबार कांग्रेसका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका छन्। 

सभापति देउवासँगै हिजो उनीहरुले कृष्ण सिटौला, शेखर कोइराला, रमेश लेखकसहितका नेतासँग भेटवार्ता गरेका हुन्। 

‘मुख्यमन्त्री ज्यूले काठमाडौँको काम अझै नसकिएकाले आजको बैठक नहुने जानकारी गराउनु भएको छ,’ अर्थमन्त्री यादवले भने, ‘उहाँहरु उताबाट फर्किपछि अब एकदुई दिनपछि नै होला सर्वदलीय बैठक।’

उनले मुख्यमन्त्री यादव फर्किपछि भोलि अथवा पर्सी बैठक बसेर आवश्यक निर्णय हुने बताए। 

उनले अबको सर्वदलीय बैठकबाट मन्त्रीपरिषद् विस्तार र मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिने विषयमा आवश्यक निर्णय हुने जानकारी दिए। 

कांग्रेसका मधेस प्रदेश संसदिय दलका नेता यादव यही मंसिर १९ गते एमालेबाहेकको सात दलीय गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका हुन्। उनले आइतबार नै तीन सदस्यीय मन्त्रीपरिषद् गठन गरेका छन्। 

उनले मन्त्रिपरिषद् विस्तारअघि काठमाडौँ आएर कांग्रेसका शीर्ष नेताहरुलाई भेटेका हुन्। 

आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दा यादवले यही मंसिर २४ गते विश्वासको मत लिने प्रचार गरिएको थियो। यादवले भने आफूले २४ गते नै विश्वासको मत लिने भनेर नभनेको दाबी गरेका छन्। 

सात दलबीच मन्त्रालय बाँडफाँडमा सहमती नहुँदा मधेसमा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। जसपा र माओवादी केन्द्र दुवैले भौतिक पूर्वाधार मन्त्रालय दाबी गर्दा सहमति जुट्न नसकेको बताइएको छ। 

कांग्रेसका जंगीलाल राय, जनमत पार्टी संसदीय दलका नेता महेश यादव र नेकपा एकीकृत समाजवादीबाट कनिश पटेल आइतबार मन्त्री नियुक्त भएका थिए। 

मधेसमा जंगीलाल र पटेलले विनाविभागीय मन्त्रीको शपथ खाँदा जनमतका महेश यादवले प्रदेशमा महत्वपूर्ण मानिएको अर्थमन्त्रीमा नियुक्ति पाएका छन्। 

सत्तारुढ दलहरूबीच मधेस प्रदेश सभाका सभामुखमा पनि सहमती हुन बाँकी छ। एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डल महाअभियोगबाट बर्खास्त भएपछि मधेसमा अहिले मुख्यमन्त्री पद खाली छ। 

मधेसमा सभामुखमा पनि जसपा र माओवादी केन्द्रले दाबी गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad