मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले काठमाडौँ आएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका छन्।
कांग्रेसका नेतासमेत रहेका मुख्यमन्त्री यादवसँगै मधेस प्रदेशका अर्का मन्त्री तथा कांग्रेस नेता जंगिलाल रायले मंगलबार दिउँसो कांग्रेसका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका हुन्।
सभापति देउवासँगै आफूहरुले कांग्रेस नेता कृष्ण सिटौला, शेखर कोइराला र रमेश लेखकसँग भेटवार्ता गरेको नेता रायले जानकारी दिए।
कांग्रेसका मधेस प्रदेश संसदिय दलका नेता यादव यही मंसिर १९ गते एमालेबाहेकको सात दलीय गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका हुन्। उनले आइतबार नै तीन सदस्यीय मन्त्रीपरिषद् गठन गरेका छन्।
उनले मन्त्रिपरिषद् विस्तारअघि कांग्रेसका शीर्ष नेताहरुलाई भेटेका हुन्। भेटका क्रममा मुलुकको समसामयिक राजनीति र पार्टीको महाधिवेशनका विषयमा छलफल भएको रायले बताए।
नेता रायले मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न भोलि नै जनकपुर फर्किएर सर्वदलिय बैठक गर्ने जानकारी दिए।
‘संभवत आगामी शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार हुनसक्ने सम्भावना छ,’ उनले नेपालखबरसँग भने, ‘भोलिको बैठकबाट मुख्यमन्त्रीज्यूले प्रदेश सभाबाट विश्वासको मत लिने विषयमा पनि आवश्यक निर्णय हुनसक्छ।’
आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दा यादवले यही मंसिर २४ गते विश्वासको मत लिने प्रचार गरिएको थियो। यादवले भने आफूले २४ गते नै विश्वासको मत लिने भनेर नभनेको दाबी गरेका छन्।
सात दलबीच मन्त्रालय बाँडफाँडमा सहमती नहुँदा मधेसमा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। जसपा र माओवादी केन्द्र दुवैले भौतिक पूर्वाधार मन्त्रालय दाबी गर्दा सहमति जुट्न नसकेको बताइएको छ।
कांग्रेसका जंगीलाल राय, जनमत पार्टी संसदीय दलका नेता महेश यादव र नेकपा एकीकृत समाजवादीबाट कनिश पटेल आइतबार मन्त्री नियुक्त भएका थिए।
मधेसमा जंगीलाल र पटेलले विनाविभागीय मन्त्रीको शपथ खाँदा जनमतका महेश यादवले प्रदेशमा महत्वपूर्ण मानिएको अर्थमन्त्रीमा नियुक्ति पाएका छन्।
सत्तारुढ दलहरूबीच मधेस प्रदेश सभाका सभामुखमा पनि सहमती हुन बाँकी छ। सभामुखमा पनि जसपा र माओवादी केन्द्रले दाबी गरेका छन्। यी विभिन्न विषयमा भोलिको सर्वदलिय बैठकमा छलफल हुने नेताहरुले बताएका छन्।
Shares

प्रतिक्रिया