राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीबीच एकताको सम्भावना तत्काल सकिएको ती पार्टीका नेताहरूले बताएका छन्। रास्वपाका शीर्ष नेता र वार्ता टोलीसँग पटकपटक भएको छलफलमा कुनै सहमति नजुटेको उनेपाका नेताहरू बताउँछन्।
उनेपाले रास्वपासँग एकताको सम्भावना तत्कालका लागि सकिएको निचोड निकालेको छ। रास्वपा सभापति रवि लामिछाने र कुलमान घिसिङ दुवै जना अडानबाट टसमस नभएपछि एउटै पार्टी बनाएर फागुन २१ गतेको प्रतिनिधि सभाको चुनावमा होमिने सम्भावना पनि सकिएको छ।
रास्वपाको चुनाव चिह्न लिएर चुनावमा जान आफूहरू तयार भइसके पनि केही विषयमा समझदारी नबनेको उनेपाका नेता जीतराम वाइबाको भनाइ छ। निर्वाचन आयोगले चुनाव चिह्न छान्न मंसिर १९ गतेसम्मको समय दिएको थियो।
सोही अनुसार रास्वपासँग एकताको लागि अन्तिम प्रयास गरे पनि कुरा नमिलेको वाइबाले बताए।
‘रास्वपासँग अब तत्काल एकताको सम्भावना छैन, सबै हिसाबले मिलेर जाने हाम्रो अन्तिमसम्म कोसिस भयो। तर, रास्वपा मिल्न नचाहेको देखियो,’ वाइबाले नेपालखबरसँग भने, ‘यो गर्छाैँ, त्यो गर्छाैँ भनेर वार्ता गर्ने तर, निष्कर्ष नदिने भएपछि अल्मल्याउने काम भएको हामीलाई लाग्यो।’
रास्वपाले उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा उच्चस्तरीय वार्ता समिति बनाएको थियो। जसमा शिशिर खनाल सदस्य छन्। त्यसबाहेक पुकार बम लगायतका नेताले पनि वार्ता गरिरहेका छन्।
तर, पछिल्लो एकहप्ता यता औपचारिक वार्ता नभएको उनेपाका नेता वाइबाले बताए। रास्वपासँग एकता प्रक्रिया लगभग सकिएपछि उनेपाले संगठन विस्तारलाई तीव्र पारेको उनको भनाइ छ।
‘अब हामी यता अलमलिनुभन्दा पार्टी निर्माणमै लागेका छौँ,’ उनले भने, ‘केन्द्रीय समिति विस्तार गरेर अब ९९ सदस्यीय बनाउँदैछौँ। भोलिदेखि पार्टी प्रवेशको कार्यक्रम हुन्छ।’
पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा गठन भएको उनेपाले निर्वाचन आयोगमा ५१ जना केन्द्रीय सदस्यको विवरण बुझाएको थियो। जसमा कुलमान घिसिङको नाम राखिएको छैन।
तर, मंसिर १७ गते पार्टी घोषणा कार्यक्रमका प्रमुख अतिथि घिसिङ नै थिए।
अहिले उनी विभिन्न जिल्लामा राजनीतिक सम्बोधन गर्दै हिँडेका छन्।
उता, रास्वपाका प्रवक्ता मनीष झा भने उनेपासँग अझै एकता हुनसक्ने बताउँछन्।
‘टेक्निकल्ली पनि मिल्छ। पार्टी एकतै भयो भने त सबै मिल्यो। उम्मेदवारी दर्ता गर्दा पार्टीले चिठ्ठी काट्ने हो। एकताको सम्भावना जीवितै छ,’ झाले भने, ‘पछिल्लो विकास केही भइसकेको छैन। उपसभापति स्वर्णिम वाग्ले अस्ट्रेलिया गएकोले बीचमा छलफल हुन पाएन। तर, सम्भावना मरिसकेको छैन। राजनीतिमा सम्भावना जीवित रहन्छ, जबसम्म कानुनले ढोका बन्द गर्दैन। अहिलेसम्म कानुनले ढोका बन्द गरेको छैन।’
रास्वपा, बालेन र उनेपाका नेताबीच त्रिपक्षीय छलफल भएको थियो। तर, आआफ्ना स्वार्थ भएपछि सहमति नजुटेको नेताहरू सुनाउँछन्।
उनेपाका अर्का नेता गणेश घिसिङ पनि रास्वपासँगको एकता प्रक्रिया अन्त्य भएको बताउँछन्।
‘एउटै दल बन्ने सम्भावना देखिएन, तत्काल पार्टी एकता हुने भएन,’ घिसिङले भने, ‘छलफल मात्र भयो टुंगिएन।’
रास्वपा र उनेपाका नेताहरूबीच एकता गरेर जान जुटिसकेको सहमति अन्त्यमा भंग भएको उनेपाका एक नेताले बताए।
‘कुलमानलाई वरिष्ठ नेता दिन र चुनावमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जान रास्वपा तयार भइसकेको थियो। बाँकी पदाधिकारी पनि सहमतिमै मिलाउने भन्ने थियो तर, सहमतिमा हस्ताक्षर हुन पाएन। कुलमानले नै म आफैँ फोन गर्छु भन्नुभयो,’ ती नेताले भने, ‘त्यही दिन बेलुका बालेनसँग भेट्न कुलमान जानुभयो। त्यसपछि रास्वपासँग छलफल अगाडि बढेन।’
बालेनको भरमा कुलमान
उनेपाका नेताहरू काठमाडौँ महानगपालिकाका मेयर बालेन (बालेन्द्र) शाहको साथ लिएर पार्टी चुनावमा जाने माहोल बनेको बताउँछन्। त्यसका लागि बालेनले कुलमानलाई आश्वस्त पारिसकेका छन्।
‘उनेपाले चुनावमा एक्लै तयारी गर्दैछ,’ कुलमानका विश्वासपात्रमध्येका वाइबाले भने, ‘बालेनले सहयोग गर्ने र सँगसँगै जाने कुरा गरिसक्नुभएको छ।’
केही दिनअघि मात्र बालेनका सहयोगीहरूले नख्खु कारागार पुगेर रास्वपा सभापति रवि लामिछानेसँग पनि भेट गरेका थिए।
बालेनले रास्वपा र कुलमानसँग समानान्तर छलफल गरिरहेका छन्। तर, कुलमान बालेनलाई आफूसँगै राख्ने प्रयासमा छन्। पितृशोकमा रहेका बालेनलाई भेट्न उनी दुई पटक पुगिसकेका छन्।
‘सँगै छौँ भन्ने कुरा निश्चिन्त पार्नुभएको छ। तर, प्रक्रिया के हो? मोडालिटी के हो? कसरी सहयोग गर्ने भन्ने कुरा गोप्य रूपमा भएको होला, हामीसँग आइसकेको छैन,’ कुलमानका अर्का सहयोगीले भने, ‘यसबारे मन्त्री र बालेनबीच सिधै कुरा हुन्छ, अलगअलग कुरा हुँदा दसथरी आउन थाल्यो।’
यद्यपि, उनेपाका केही नेताहरू बालेनको भर पर्न नहुने बताउँछन्।
‘रास्वपासँग पनि बालेनको समूह निरन्तर छलफलमा छ, कोही तीनै वटा शक्ति मिलाउन प्रयास गरिरहेका छन्, अहिले नै ढुक्क भएर विश्वास गर्नु हुँदैन भनेको। कुलमानले सुन्नुभएको छैन,’ उनेपाका एक नेताले भने।
चुनावमा सहकार्यको बाटो खुला
एउटै पार्टी बनाउने प्रयास तत्कालका लागि सफल नभए पनि रास्वपा र उनेपाबीच चुनावमा सहकार्य हुने दुवै पक्षका नेताहरूको भनाइ छ। उनेपाका नेता गणेश घिसिङले चुनावमा कार्यगत एकताको लागि छलफल भइरहेको बताए।
रास्वपाबाट वार्ता समितिमा रहेका शिशिर खनालले पनि सो कुरा स्वीकार गरे।
‘चुनावमा सहकार्य गर्न पहिलेदेखि हामी खुला हो,’ उनले भने, ‘परिस्थितिजन्य हिसाबले मिलेर जानुपर्छ भन्ने लाइन सुरुदेखि छ। कति अरुसँग त गर्नुपर्ने हुनसक्छ, झन् उज्यालो नेपाल र कुलमानजीसँग नहुने कुरै भएन।’
रास्वपा र उनेपाका नेताहरू एकता प्रक्रियालाई थाती राखेर जेनजी, विभिन्न दल, व्यक्ति फकाउने प्रयासमा लागेका छन्।
Shares

प्रतिक्रिया