एमालेका महाधिवेशनको लागि रामेछापबाट छनोट भएका प्रतिनिधिले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि रामेछापबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिले आइतबार भक्तपुरको गुण्डुस्थित निवासमा पुगेर ओलीलाई भेटेका हुन्।
भेटमा रामेछाप भूगोल भएका केन्द्र, प्रदेश तथा जिल्लाका प्रतिनिधिको सहभागिता थियो।
भेटमा ओलीले प्रतिनिधिहरूलाई अनावश्यक बहकाउमा नलाग्न आग्रह गरेका छन्। उनले सहमतिबाट नै नेतृत्व चयनको लागि प्रयास भइरहेको बताउँदै महाधिवेशन बाहिर चर्चा गरिएजस्तो तिक्ततापूर्ण प्रतिस्पर्धा नहुने दाबी गरेका ओलीसँगको भेटमा सहभागी एमाले बागमती प्रदेश कमिटी सदस्य आनन्द श्रेष्ठले जानकारी दिए।
भेटका क्रममा नेताहरूले अध्यक्ष ओलीलाई जिल्लाको वस्तुस्थिति बारे संक्षिप्त जानकारी गराएका थिए।
अध्यक्ष ओलीलाई भेट्न पार्टी पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाईँ, केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव माधव ढुङ्गेल, केन्द्रीय सदस्य गीता कार्की, वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल तथा जिल्लाबाट प्रतिनिधि छानिएका नेताहरू गुण्डु पुगेका हुन्।
एमालेको महाधिवेशनमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच प्रतिस्र्धा हुने चर्चा छ। पोखरेल पक्षमा पूर्व राष्ट्रपति विद्या भण्डारीसमेत खुलेपछि ओलीले महाधिवेशन प्रतिनिधिलाई आफूतिर आकर्षित गर्न विभिन्न प्रयास गरिरहेका छन्।
Shares

प्रतिक्रिया