एमालेले ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई बसोबासको व्यवस्था गर्ने भएको छ।
एमालेको ११ औँ महाधिवेशन यही मंसिर २७ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ।
सम्पर्क समन्वय कमिटीले बस्न र खाना समस्या हुने प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा भएपनि बासको प्रबन्ध गरिएको जनाएको छ।
कमिटीका सचिव आरसी लामिछानेले टाढाबाट आउने प्रतिनिधिलाई बस्न र खानाका समस्या भएमा नेता तथा कार्यकर्ताको घरमा राख्ने व्यवस्था मिलाइएको जानकारी दिए।
‘यसपटक प्रतिनिधिलाई महाधिवेशन आयोजक कमिटीले आवासको व्यवस्था मिलाएको छैन। तर हामीले प्रतिनिधिलाई काठमाडौँमा बस्न समस्या नहोस् भनेर नेता तथा कार्यकर्ताको घर र कोठामा राख्ने व्यवस्था मिलाएका छौँ,’ उनले भने, ‘अहिले हामीले प्रदेशगत रूपमा काठमाडौँमा बस्न समस्या हुने प्रतिनिधिको विवरण सङ्कलन गरिरहेका छौँ।’
महाधिवेशनमा करिव दुई हजार दुईसय प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ।
यसपटक पार्टीले आवासको व्यवस्था नगरेकाले प्रतिनिधि शुल्क पनि तीन हजार र दुई हजार मात्र तोकिएको छ। महाधिवेशनका आयोजक प्रतिनिधिलाई तीन हजार रुपियाँ र निर्वाचित भएर आउने प्रतिनिधिलाई रु दुई हजार रुपियाँ शुल्क तोकिएको हो।
एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदै छ। महाधिवेशनको उदघाटन शत्र भक्तपुरको सल्लाघारीमा गर्ने तयारी एमालेको छ। त्यस्तै बन्द सत्र भने काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुने साे पार्टीले जनाएको छ।
Shares

प्रतिक्रिया