राजनीति


१०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने, १२ दलले संयुक्त रुपमा लिए ५ चिह्न

१०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने, १२ दलले संयुक्त रुपमा लिए ५ चिह्न

नेपालखबर
मंसिर २१, २०८२ आइतबार १६:२६, काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १०२ वटा राजनीतिक दल एक्लाएक्लै निर्वाचनमा जाने भएका छन्। 

१२० वटा राजनीतिक दलले निर्वाचनमा भाग लिनको लागि निवेदन दिएकोमध्ये १०२ वटा दलहरूले एक्लाएक्लै निर्वाचनमा जानेगरि निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। १२ वटा राजनीतिक दलहरूले भने संयुक्त रुपमा एकल चिह्न प्रयोग गरी निर्वाचनमा जानेगरि आयोगमा निवेदन दिएको उनले बताए।

उनकाअनुसार १२ वटा राजनीतिक दलले विभिन्न समूह बनाएर ५ वटा चुनाव चिह्न प्रयोग गरी निर्वाचनमा भाग लिनेछन्। एकल चुनाव चिह्न र संयुक्त चुनाव चिह्न प्रयोग गरी ११४ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए। उनकाअनुसार प्रतिनिधि सभा निर्वाचनमा ११४ वटा दल १०७ वटा चिह्नमार्फत निर्वाचनमा सहभागी हुनेछन्। आयोगले राजनीतिक दलहरूको निवेदन स्वीकृत गरिसकेको छ। 

उनले भने, ‘हामीलाई छुट्टाछुट्टै निर्वाचनमा भाग लिनको लागि र एकल चुनाव चिह्न लिएर निर्वाचनमा जानको लागी विभिन्न १२० वटा निवेदन प्राप्त भएका थिए। १२० वटा निवेदन प्राप्त भएकोमध्ये १०२ वटा दलले आफू मात्रै एक्लै चुनावमा जानेगरि निवेदन दिनुभएकोमा उनहरूको निवेदन स्वीकृत भएको छ। १२ वटा दलले संयुक्त रुपमा, १२ वटा एउटै समूहमा होईन, कुनैमा दुई दल कुनैमा तीन दल मिलेर एकल चुनाव चिह्न प्रयोग गर्नेगरि दल दर्ताको निवेदन दिनुभएको थियो। त्यसमध्ये १२ वटा दलको ५ वटा निर्वाचन चिह्न प्रयोग गर्नेगरि स्वीकृत भएको छ।’

उनले थपे, ‘१२० वटा निवेदनमध्ये ११४ वटा दलले निर्वाचनमा भाग लिन पाउने भएका छन्। ११४ मध्ये १०२ दलले आ–आफ्नो निर्वाचन चिह्न प्रयोग गरेर जाने र १२ वटा दलले विभिन्न समुहमा रहेर ५ वटा निर्वाचन चिह्न प्रयाग गरेर निर्वाचनमा जानेगरि प्रतिनिधि सभा निर्वाचनमा ११४ वटा दल १०७ वटा चिह्नमार्फत निर्वाचनमा सहभागी हुनेछन्।’ 

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भने आइतबारबाट शुरु गरेको छ। समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंगलबारसम्म निवेदन दिन सक्नेछन्।

प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गरिनेछ भने आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेद्वारको बन्दसूची पेश गर्ने समय तोकिएको छ। बन्दसूची पेश गर्दा ५० प्रतिशत महिला हुनुपर्ने आयोगले जनाएको छ।

प्रत्यक्षतर्फको भने आगामी माघ ६ गते उम्मेद्वारी मनोनयन गर्ने कार्यतालिका छ।

समावेशी समाजवादी पार्टीको अध्यक्ष नुमा लिम्बूले निर्वाचनका लागि आफ्नो पार्टीले प्रदेश, जिल्ला, स्थानीय, वडाहरू सबैतिर संरचना विस्तार गरेर तयार गरिरहेको जानकारी दिए। लैंगिक तथा अल्पसंख्यक समुदाय, आदीवासी, जनजाति, मनोरञ्जन क्षेत्रका सबैलाई सहभागी गराएर निर्वाचनको तयारी गरिरहेको उनले बताए। 

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले शिक्षा, स्वास्थ्य निःशुल्क हुनुपर्ने माग आफूहरूको रहेको बताए। युवाहरूलाई देशमा रोजगारी दिनुपर्ने, नेपालीको सम्पतीको सीमाङ्कन हुनुपर्ने, विदेशमा सम्पती राख्न नपाउने, उत्पादनका मुख्यमुख्य साधन र सेवा सामाजिकीकरण गर्नुपर्ने माग राखे। असमान सन्धि,सम्झौता खारेज हुनुपर्ने माग गरे। 

समानुपातिक निर्वाचनमा भाग लिन निवेदन दिने प्रक्रियाका लागि राजनीतिक दलहरू निर्वाचन आयोगमा जाने क्रम बढेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad