राजनीति


निर्वाचनका लागि ९० दिन बाँकी, कस्तो छ तयारी?

निर्वाचनका लागि ९० दिन बाँकी, कस्तो छ तयारी?

नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार १७:५३, काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अब ९० दिन बाँकी छन्।

सरकार र निर्वाचन आयोग तथा सम्बद्ध निकायले निर्वाचनका लागि आवश्यक तयारीलाई जारी राखेका छन्। आज मात्रै प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल, आयोगसहितसँग सर्वपक्षीय छलफल आयोजना गरेकी छन्। 

त्यस्तै, निर्वाचन आयोगले आजै समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि विकसित घटनाक्रममा भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिक सरकार गठन भई प्रतिनिधि सभाको विघटन भएको थियो। सरकारले निर्वाचन सम्पन्न गर्ने कामलाई एक मुख्य कार्यभारका रूपमा लिएको छ।

यसअघि गत मंसिर १४ गतेसम्म निर्वाचनमा भाग लिने एक सय २० राजनीतिक दलले आयोगमा निवेदन दिइसकेका छन्। यही मंसिर १ गतेदेखि १० गतेसम्मका लागि निवेदन दिने समय दिइएकामा नयाँ दल सरोकारवालाको सुझावका आधारमा चार दिन समय थप गरिएको थियो। 

निर्वाचनको वातावरण तयार भइनसकेको र संसद् पुनःस्थापनाको माग गर्दै आएको दल नेकपा (एमाले) लगायत प्रमुख दल र नयाँ दलले आयोगमा निवेदन दिएका छन्। आयोगले त्यसअघि खुला गरेको मतदाना नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा आठ लाख नयाँ मतदाता थपिएका छन्।  नयाँ मतदाताबारे आयोगले आवश्यक जाँचबुझ गरिरहेको छ।

निर्वाचनका लागि आयोगले करिब सात अर्ब रुपैयाँ  माग गरेकामा अर्थ मन्त्रालयले पाँच अर्ब ९६ करोड रुपैयाँ स्रोत सुनिश्चित गरिसकेको छ भने सरकार र आयोगको परामर्शमा एकीकृत निर्वाचन सुरक्षा योजना लागू भइसकेको छ। आयोगले निर्वाचनका लागि आवश्यक सामग्री र उपकरण खरिद प्रारम्भ गरिसकेको छ।

यसैगरी, आयोगले राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षण गर्ने संस्थाहरूलाई आवेदन माग गरेको छ। निर्वाचनमा विदेशमा रहेका मतदाताको मताधिकार र अन्तरजिल्ला मतदानबारे अध्यादेशबाट कानुन संशोधनको कार्य निर्णय हुन बाँकी रहेको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले आज सूचना प्रकाशन गरी समानुपातिक प्रणालीतर्फको कार्यक्रम शनिबारदेखि सुरु हुने भएकाले स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते अपराह्न ४ बजेसम्म समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेश आग्रह गरेको छ।

आयोगले गत आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि आयोगको कान्तिपथस्थित कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ। यस प्रणालीका लागि आयोगका सचिव माहादेव पन्थलाई निर्वाचन अधिकृत तोकिएको छ।

प्रत्यक्ष तर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ। त्यही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ। उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने समय निर्धारण गरिएको छ।

आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ। यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् र सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभाको निर्वाचनको तयारी पनि गरिरहेको छ।

आयोगले निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयारी गरी सुझाव मागेको छ भने सुझाव समेटेर आगामी माघको पहिलो साता जारी गर्ने तयारी गरेको छ। आयोग र सरकारबीच मतदानस्थल र केन्द्रका पुनः मूल्याङ्कनपछि निर्वाचन सुरक्षा प्रहरीको भर्ना प्रक्रिया सुरु गर्ने तयारी भएको छ। यी तयारीसँगै आयोगले मतदाता शिक्षा, सूचना सम्प्रेषण, प्रेस अफिस तथा मल सेन्टरको सञ्चालनलगायतका काम गर्नेछ। (रासस)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad