राजनीति


ईश्वर पोखरेललाई संकेत गर्दै बादलले भने : यसले अझ विघटन र विसर्जनतिर लैजान्छ

ईश्वर पोखरेललाई संकेत गर्दै बादलले भने : यसले अझ विघटन र विसर्जनतिर लैजान्छ

नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार १४:५०, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षमा निरन्तरता दिनुपर्ने बताएका छन्। 

शुक्रबाधर प्रेस चौतारी नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीले ओलीलाई नै निरन्तरता दिने निष्कर्षमा पुगेको बताएका हुन्। 

उनले मुलुकमा राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको रक्षा र प्रतिक्रान्तिलाई परास्त गर्न पनि ओली नेतृत्वको विकल्प नभएको निष्कर्षमा पार्टी केन्द्रीय समिति पुगेको दाबीसमेत गरे। 

ओलीका नीति, विचार र उनले हासिल गरेका उपलब्धिले पनि उनलाई नै नेतृत्वमा निरन्तरता दिन आवश्यक देखिएको उपाध्यक्ष थापाले जिकिर गरे। 

यस क्रममा उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति संकेत गर्दै अहिलेको अवस्थामा नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त नभएको टिप्पणी पनि गरे। 

‘हुन त अहिले विभिन्न कमरेडहरूले सार्वजनिक रूपमा विभिन्न उम्मेदवारी घोषणा गरिरहनुभएको छ। केन्द्रीय समितिको निर्णयको कोणबाट हेर्दा यो ढंगमा जानु एमाले नेताहरूका लागि उपयुक्त होइन। यसले पार्टीलाई एकताबद्ध गर्दैन’, उनले भने, ‘यसले अझ विघटन र विर्सजनतिर लैजान्छ। अहिलेको सन्दर्भमा प्रतिस्पर्धाको नामबाट यो ढंगले जान हामी उपयुक्त हुँदैन। त्यसकारण एकताबद्ध नेतृत्व सहमतिका साथ अघि बढाउने केन्द्रीय समितिको पनि निर्णय भएको र आम जनताको पनि, कार्यकर्ताको पनि यो चाहना भएको हुनाले यही ढंगले जानुपर्छ भन्ने हाम्रो ठहर छ।’

उपाध्यक्ष थापाले पदाधिकारी संख्या र केन्द्रीय समितिको आकार बढाउन आवश्यक देखिएको उल्लेख गर्दै त्यसका लागि विधानमा संशोधन गरेर अघि बढ्न आवश्यक रहेको समेत बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad