मधेसका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने प्रयोजनका लागि राखिएको मधेस प्रदेश सभा बैठक बुधबार (आज) दिउँसो सुरु भयो। प्रदेश सभामा रहेका १० वटै संसदीय दलका सांसदहरूले बैठक कक्ष भरियो।
प्रदेश सभाकी उपसभामुख बबिता कुमारी राउत इशरले मुख्यमन्त्री यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न रुलिङ गरिन्।
जब मुख्यमन्त्री यादवले एउटा डायरी र कलम बोकेर रोष्टमतर्फ कदम बढाए, तब विपक्षी तर्फ बसेका सांसदहरू उठेर बैठकबाट बाहिर निस्किए। सरकारमा रहेको नेकपा एमाले, नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गरी तीन दलमात्रै बसे।
यी बाहेक नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, माओवादी केन्द्र, नकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सबै सांसदहरू कुर्सी नै खाली बनाएर सदनबाट बाहिरिएका थिए।
विश्वासको मतको प्रस्ताव पेश गर्ने समयमा विपक्षी दलका सांसदहरू बाहिरिनु कुनै ठूलो विषय नभएको जनमत मधेस संसदीय दलका नेता महेश प्रसाद यादव बताउँछन्। अवैधानिक तरिकाले मुख्यमन्त्री बनेका व्यक्तिको भाषण सुन्न मन नलागेर आफूहरू सदनबाट बाहिरिएको उनको भनाइ छ।
‘सदनमा बस्यौं। हाजिर गार्यौं। मुख्यमन्त्रीज्यूले विस्वासको मत लिन थाल्नुभएपछि हामी बाहिर निस्क्यौं,’ उनले भने, ‘होटलमा शपथ खाने मुख्यमन्त्रीले विश्वासको मत लिँदा हामी बस्नुपर्छ जस्तो लागेन। संविधानले नै अवैधानिक भनेको उहाँको भाषण सुन्न पनि मन लागेन। हामीसँग उहाँले विश्वासको मत माग्नुभएको पनि थिएन।’
यस्तै, नेपाली कांग्रेस मधेस संसदीय दलका सचेतक कुमार कान्त झाले आफूहरू विश्वासको मत दिने पक्षमा पनि नभएको र विश्वासको मतको साक्षी बस्न पनि तयार नभएका कारण सदन छोडेर बाहिरिएको बताए।
‘संविधानको धारा १६८ को उपधारा २ जीवित हुँदाहुँदै संविधान नै मिचेर धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री बनेकालाई हामीले नैतिक रुपमै चिनेका थिएनौं,’ उनले भने, ‘होटलमा कार्यकर्ता उतारेर शपथ खाएर नैतिकता गुमाएको व्यक्तिलाई हामीले स्वीकार्न सकेनौं। त्यसैले सदनमा बसिरहन उचित नठानेर बाहिरिएका हौं।’
जनता समाजवादी मधेस संसदीय दल सचेतक राम आशिष यादव पनि संविधानको मर्यादा विपरित कार्य गर्नेको साक्षी बस्न मन नलागेर सदनबाट बाहिरिएको बताउँछन्। मर्यादा विपरित, संस्कारहीन तरिकाले शपथ खाने मुख्यमन्त्रीको गफ सुन्न आवश्यक नलागेको उनको भनाइ छ।
‘एमालेका नेताहरू बटुलेर आफ्नै स्वकीयलाई कार्यक्रम चलाउन लगाएर होटलको बारसेटमा शपथ लिएको असंवैधानिक व्यक्तिलाई हामीले मुख्यमन्त्री नै मानेका छैनौं,’ उनले नेपालखबरसँग भने, ‘त्रुटीगत ढंगले शपथ गराएको सर्वोच्चले ठहर गरिसकेको छ। मधेसको अस्मितामाथि नै खेलबाड गर्ने मुख्यमन्त्रीलाई साथ नदिने भनेर सातै दलको सहमतिमा बाहिरिएका हौं।’
आफू रोष्ट्रममा उभिएपछि विपक्षी दल बसेको बेञ्च पुरै खाली भएपछि यादवले कुर्सीसँग विश्वासको मत मागेर भएन भन्दै राजीनामा दिएको घोषणा गरेका थिए। कुल १०७ सदस्य रहेको मधेस प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ५४ सांसदको समर्थन आवश्यक पर्छ। उनको पक्षमा विश्वासको मत प्राप्त नहुने देखेपछि उनले पदबाट राजीनामा दिएका हुन्।
मधेस प्रदेश सभामा एमालेको २५ सिट छ। राप्रपा र संघीय समाजवादी पार्टीको १/१ सिट छ। सरकारमा रहेको दलको कुल २७ मत मात्रै हुने भएपछि यादवले मुख्यमन्त्रीको शपथ खाएको २२ औँ दिनमा पदत्याग गरे। उनको राजीनामा स्वीकृत समेत भइसकेको छ।
यता, प्रदेश प्रमुख सुरेन्द्र लाभले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मंसिर १९ गते शुक्रबार दिनको ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन्।
Shares

प्रतिक्रिया