राजनीति


कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकियो १० योग्यता

कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकियो १० योग्यता

नेपालखबर
मंसिर १६, २०८२ मंगलबार १६:१३, काठमाडौँ

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। 

मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र क्षेत्रीय समितिका सभापतिलाई सम्बोधन गर्दै उम्मेदवार सिफारिसका विषयमा परिपत्र गरेका हुन्। 

'निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको तथा राष्ट्रिय सभा सदस्यको निर्वाचन कार्यक्रमसमेत प्रकाशित गरिसकेको छ। यसर्थ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको ०८२ मंसिर १५ गते बसेको बैठकले पार्टी विधानको व्यवस्थाबमोजिम मातहतका सम्बन्धित पार्टी निकायलाई उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन गर्ने भनी निर्णय गरेअनुसार प्रतिनिधि सभा सदस्य पदका लागि प्रत्यक्ष र समानुपातिकतर्फ तथा राष्ट्रिय सभा सदस्य पदका लागि प्रक्रिया पूरा गरी उम्मेदवारको नाम तोकिएको मितिभित्र आफूभन्दा माथिल्लो निकायमा अनिवार्य सिफारिस गर्नुहुन यो परिपत्र गरिएको छ,' पत्रमा उल्लेख छ। 

सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन मिति तोकेको छ।  त्यस्तै माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न विधान बमोजिम प्रदेश कार्यसमितिले केके काम गर्ने भन्ने पनि निर्देशन गरेको छ। 

प्रत्येक प्रदेश कार्यसमितिले नेपालको संविधानको धारा ८६ उपधारा २ क बमोजिम निर्वाचित हुने राष्ट्रिय सभा सदस्यको लागि मातहतका जिल्लाबाट योग्यता पुगेको सम्भावित नामको सूची माग गरी प्राप्त नाममध्येबाट एक सिटका लागि तीन जनाको नाम सहमति हुन सकेमा सहमतिअनुसार र सहमति हुन नसकेमा बहुमतबाट निर्णय गरी केन्द्रमा पठाउनेछ। 

यहीअनुसार हरेक प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित हुने प्रत्येक सिटका लागि ३/३ जनाको दरले योग्यता पुगेका संभावित नामको सूची ०८२ मंसिर मसान्तभित्र पार्टी केन्द्रमा पठाउन पनि निर्देशन गरिएको छ। 

यस्ता छन् १० शर्त तथा योग्यता 

१- नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३० बमोजिमको योग्यता पुगेको व्यक्ति हुनु पर्ने।

२- जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्ति नेपाली कांग्रेसको उम्मेदवार बन्न अयोग्य हुनेछन्‌।

३- २०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्तिको नाम पार्टी विधानको धारा ३३ (२) बमोजिम आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फको उम्मेदवार हुन पाउने छैनन्‌।

४- प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिकको बन्दसूचीमा समावेश भएका व्यक्तिहरूको नाम प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि उम्मेदवार सिफारिस गर्न पाइने छैन।

५- तोकिएको उम्मेदवारको संख्याभन्दा बढी नाम सिफारिस गर्न पाइनेछैन।

६- प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्य पद मध्ये कुनै एक व्यक्ति एक पदका लागि मात्र सिफारिश गर्नु पर्नेछ।

७- प्रतिनिधि सभा सदस्य पदको उम्मेवारको लागि तेपाली नागरिकताको प्रमाणपत्र र मतदाता परिचय पत्रको प्रतिलिपी पेस गर्नु पर्नेछ।

८- प्रतिनिधि सभा समानुपातिक तर्फका सिफारिस भएका उम्मेदवारहरूको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, मतदाता परिचय पत्रको प्रतिलिपी, मतदाता नामावली नाम समावेश भएको निस्सा, उम्मेदवार हुनका लागि पार्टी केन्द्रबाट तोकिएको प्रतिवद्धता पत्र र
निर्वाचन आयोगले तोकेको स्वघोषणपत्र, उम्मेदवारको वैयक्तिक विवरण र सो घोषणा गरिने सम्पत्ति विवरण फारममा हस्ताक्षर गरेको हुनु पर्नेछ।

९- २०७९ मा सम्पन्त स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न पाइनेछैन।

१०- पार्टी विधानको धारा ६९ बमोजिम पार्टीका क्रियाशील सदस्य, विभिन्न तह र जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरूले तोकिए बमोजिमको सहयोग रकम (लेवी) तोकिए बमोजिमको पार्टी निकायमा अनिवार्य बुझाउनु पर्नेछ। सहयोग रकम (लेवी) नबुझाउने त्यस्ता कुनै पनि व्यक्ति कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन पाउने छैनन्‌।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad