राजनीति


समानुपातिकतर्फ निर्वाचन कार्यक्रम मंसिर २० देखि

समानुपातिकतर्फ निर्वाचन कार्यक्रम मंसिर २० देखि

नेपालखबर
मंसिर १६, २०८२ मंगलबार १२:३६, काठमाडौँ

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मंसिर २० गतेदेखि सञ्चालन हुँदै छ।

आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको कान्तिपथस्थित कार्यालयमा स्थापना गरेसँगै सो कार्यक्रमका लागि तयारी सुरु गरिएको हो।

निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार मंसिर २१ गते बिहान १० बजे २३ गते अपराह्न ४ बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले निवेदन पेस गर्नेछन्।

मंसिर २४ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म निवेदन पेस गर्ने राजनीतिक दलको नामावली प्रकाशन गरिने छ।

आगामी पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्ने र माघ २० गते उम्मेद्वारहरूको बन्द सूची अन्तिम प्रकाशन हुनेछ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालयको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उद्घाटन गरेका थिए।

समानुपातिकतर्फको निर्वाचन अधिकृतका रूपमा आयोगका सचिव माहादेव पन्थ र सहायक निर्वाचन अधिकृतका रूपमा सहसचिव यज्ञप्रसाद भट्टराईले जिम्मेवारी वहन गरेका छन्। 

समानुपातिक निर्वाचन व्यवस्थापनका लागि ४१ कर्मचारी खटिने छन्। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सूत्रात्मक पद्धतिबाट राष्ट्रिय तथ्यांक कार्यालयसमेतको सहयोगमा कानुनबमोजिमका जातीय, भौगोलिक, लैंगिकलगायतका समूह छुट्याएर प्रतिनिधि चयन गरिने भएकोले सबै पक्षको भरोसा रहने विश्वास व्यक्त गरे। 

विद्यमान कानुन अनुसार प्रतिनिधिसभाका २७५ सदस्यको प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ। सभामा १६५ सदस्यको प्रत्यक्ष र बाँकी ११० सदस्यको चयन एक समानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ।

निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ आगामी माघ ६ गते सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनको कार्यक्रम राखिएको छ।

आइतबार नै नेपाल सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुनमन्त्री माननीय अनिलकुमार सिन्हाले निर्वाचन आयोगमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग निर्वाचन पूर्व तयारीको अवस्था र आगामी दिनमा निर्वाचन सम्पन्न गर्न नेपाल सरकारले आयोगलाई उपलब्ध गराउनुपर्ने सहयोगका विषयमा छलफल गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad