राजनीति


आफ्नै गुटका असन्तुष्ट नेतालाई देउवाको चेतावनी: कार्यवाहकले ल्याएको प्रस्ताव मान्नू, नमाने जेजे हुन्छ बेहोर्नुपर्ला

आफ्नै गुटका असन्तुष्ट नेतालाई देउवाको चेतावनी: कार्यवाहकले ल्याएको प्रस्ताव मान्नू, नमाने जेजे हुन्छ बेहोर्नुपर्ला

फाइल तस्बिर


नेपालखबर
मंसिर १५, २०८२ सोमबार १४:१९, काठमाडौँ

नेपाली कांग्रेसले १५औं महाधिवेशनको तालिका ल्याउने तयारी गरिरहेको छ। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकले पुस २६ गतेका लागि १५औं महाधिवेशनको तालिका पेस गर्नेछ।  

यसअघि शुक्रबार र आइतबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी तथा केही पूर्वपदाधिकारी र नेतासहितको छलफलले पुस अन्तिम साता महाधिवेशनको तालिका ल्याउने सहमति गरेको थियो। 

तर, देउवानिकट नेताहरू विमलेन्द्र निधि, कृष्ण सिटौलासहितले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनअघि पार्टी महाधिवेशन गर्न नहुने पक्षमा थिए। 

उनीहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रमेश लेखकले धोका दिएको भन्दै आपत्ति जनाएका थिए। 

त्यसपछि देउवाले आज असन्तुष्ट आफ्नै समूहका नेताहरूलाई निवासमा बोलाएर छलफल गरे। देउवाले छलफलमा आइतबार विरोध जनाएका नेताहरूले कार्यवाहकले ल्याएको सबै प्रस्तावमा सहमति जनाउने निर्देशन दिएका छन्।  

'कार्यवाहकले ल्याएको प्रस्तावमा सहमति गरौँ। त्यसैमा सहमति गरेर जाने हो,' छलफलमा निर्देशन दिँदै देउवाले भने, 'यति गर्दा पनि नमाने जेजे हुन्छ बेहोर्नुपर्ला।'

कांग्रेस केन्द्रीय समिति बैठक असोज २८ गतेदेखि जारी छ। बैठक विशेष महाधिवेशन गर्ने कि नियमित भन्नेमा रुमल्लिएको हो। महामन्त्री गगनकुमार थापासहितले विशेष महाधिवेशनमा जोड दिए भने संस्थापनले नियमितमा जोड दिँदा निष्कर्ष ननिस्केको हो। 

विवाद नमिलेपछि देउवा आफैँले सक्रियता देखाएर महाधिवेशनको तालिका ल्याउनेमा सहमति जुटाएका हुन्।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad