नेपाली कम्युनिस्ट पार्टी नेकपाले पोखराको चिप्लेढुंगामा सभा आयोजना गरेपछि त्यहाँका व्यवसायीहरूले विरोध जनाएका छन्।
राजनीतिक दलले सभा आयोजना गरेपछि व्यापारमा असर परेको भन्दै त्यहाँका व्यापारीहरूले गरिखान देऊ भन्दै विरोध जनाएका हुन्।
नेकपाका कार्यकर्ताले प्रदर्शनकारी स्थानीय व्यवसायीमाथि आक्रमणको प्रयाससमेत गरेको व्यवसायीहरूले बताएका छन्।
चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिका अध्यक्ष दुर्गा सुनारले सडक छेकेर सभा गर्दा यात्रु तथा ग्राहकहरू आउजाउ गर्न नपाएको र व्यवसाय बन्द गरेर बस्नुपर्ने अवस्था आएकाले विरोध प्रदर्शन गरिएको बताए।
स्थानीय व्यवसायीको विरोधका बाबजुद नेकपाले उक्त स्थानमा सभा गरिरहेको छ। सभामा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत नेताहरू सहभागी छन्।
सभालाई सम्बोधन गर्दै पोखरा महानगरका मेयर धनराज आचार्यले व्यवसायीले उठाएका विषयप्रति आफू गम्भीर रहेको बताएका छन्। देशका ३ जना पूर्वप्रधानमन्त्री सहभागी हुने कार्यक्रम भएकाले उक्त स्थानमा सभा गर्न अनुमति दिएको उनले बताए।
Shares

प्रतिक्रिया