नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले कांग्रेस र एमालेले सरकारमा बसेर जनतालाई हेपेको परिणाम अहिले मुलुक र उनीहरु स्वयंले भोगिरहेको बताएका छन्।
दाङको लमहीमा शनिबार आयोजित लुम्बिनी प्रदेशको पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै पुनले सुशासनका लागि काम गर्दा नियोजित रुपमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन सरकार ढालेर कांग्रेस–एमाले मिलेको बताए।
केपी ओली नेतृत्वको कांग्रेस–एमाले सरकारका गलत कामविरुद्ध आफूहरुले संसद् र सडकबाट निरन्तर खबरदारी गर्दा पनि नसुनेको भन्दै पुनले सरकारको कूशासनका कारण जेनजी आन्दोलन भएको उनको भनाइ थियो।
आफूहरुले त्यतिबेला जनतामा असन्तुष्टि चुलिएको र कुनै पनि बेला ठूलो हावाहुरी आउन सक्नेबारे सचेत गराउँदा पनि कांग्रेस र एमाले नेतृत्वले सुन्न नचाहेको उनको आरोप छ। तर, जनताको असन्तुष्टिको नेतृत्व गर्न भने आफूहरु चुकेको उनले स्वीकारे।
‘सरकारमा बसेर हामीले सुशानका लागि काम गर्न कोसिस गर्यौं। नियोजित रुपमा सरकार ढालियो। जनताको असन्तुष्टिलाई आत्मसात गरिएन। यो अवस्थामा कुनै पनि बेला ठूलो हावाहुरी आउन सक्छ भनिराखेका थियौं। आखिर त्यस्तै भयो’, पुनले भने, ‘यहीँनेर हाम्रो कमजोरी के भने हामीले व्याख्या गर्यौं, विश्लेषण गर्यौं तर जनताको त्यो असन्तुष्टिलाई नेतृत्व गर्न सकेनौं।’
जेनजी आन्दोलनबाट आफूहरुले युवाहरुलाई पार्टी र राज्यका निकायको नेतृत्वमा ल्याउने शिक्षा प्राप्त गरेकाले सोहीअनुसार अघि बढ्न खोजिएको बताए।
‘जनयुद्ध, जनआन्दोलन, शान्तिवार्ता, संविधान लेखन, सुशासन र समृद्धिको विभिन्न चरणमा सडक र सदनबाट नेतृत्व गर्नुभएका संयोजक प्रचण्ड र लामो समय शान्तिपूर्ण सडक सदन र सरकार सबै मोर्चाको नेतृत्व गर्नुभएका सह–संयोजक माधव नेपालको नेतृत्वमा नेपालको वाम लोकतान्त्रिक आन्दोलन अगाडि बढ्छ’, पुनले भने, ‘नेपाली कम्युनिस्ट पार्टी नै आजको कम्युनिस्ट आन्दोलनको मुल धारा र मुल प्रवृत्ति हो भन्ने आजको एकता घोषणासभामा भएको उपस्थितिले पनि बताउँछ।'
आगामी फागुन २१ गते हुन गइरहेको नयाँ सन्दर्भको निर्वाचनमा यो उपस्थिति, एकता, ध्रुवीकरण र नेतृत्वप्रतिको विश्वासले नेकपालाई देशको एक नम्बर पार्टी हुन कसैले नरोक्ने उनको भनाय थियो।
विगतमा भएको कम्युनिस्ट एकता एमाले अध्यक्ष केपी ओलीको निरंकुश र व्यक्तिवादी प्रवृत्तिका कारण टिक्न नसकेको भन्दै उनले त्यतिबेलाको शिक्षाबाट सिकेर अघि बढ्ने बताए।
‘मुल नेतृत्वको स्वेच्छाचारी प्रवृत्ति, गैरकक्युनिष्ट प्रवृत्तिका कारणले हामीले दुई तिहाइभन्दा बढीको जनमत, संघीय सरकार, सबैतिरको प्रदेश सरकार हुँदाहुँदै पनि त्यो परीक्षामा हामी पास हुन सकेनौं’, पुनले भने, ‘कम्युनिष्टहरुले पहिलोपटक प्राप्त गरेको बहुमत हामीले सफलतापूर्वक सञ्चालन गर्न नसक्दा विभिन्न प्रकारका लोकप्रियतावादी आन्दोलन र प्रवृत्ति देखा परे। आज जेनजी आन्दोलनसम्म हुँदा फेरि हामीले नयाँ ऐतिहासिक प्रतिबद्धता गर्नुपर्ने दायित्व आयो। त्यसलाई आत्मसात गर्दै आज प्रचण्ड र माधव नेपालको नेतृत्व वरिपरि कम्युनिस्ट आन्दोलनलाई नयाँ प्रवाहबाट ध्रुवीकृत गरेर जनताको नयाँ विश्वाका साथ सुशासन र समृद्धिको यात्रा हुँदै समाजवादका लागि काम गर्छौं भनेर नयाँ प्रतिबद्धतासहित हामीले एकता गरेका हौं।’
पुनले एकतामा सामेल नभएर फरकफरक समूह बनाएका घनश्याम भुसाल, जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवलाई पनि नेपाली कम्युनिस्ट पार्टीको झण्डामुनि गोलबन्द हुन अपिल गरे।
Shares

प्रतिक्रिया