भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्न प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले कार्यदल गठन गरेको छ। हालै भएको पार्टीको विस्तारित बैठकले भ्रष्टाचार विरोधी अभियान देशैभरि चलाउन कार्यदल गठन गर्ने निर्णय भएको नेता सुदन किराँतीले बताए।
जीएस गुरूङको संयोजकत्वमा जटिल कार्की, अमित खनाल (ऊर्जा), सम्झना राई, ध्रुवप्रसाद काप्री, मञ्जु मिक्चान र दीपक महतो सदस्य छन्।
बैठकले प्रलोपासँग बृहत एकता, ध्रुवीकरण र सहकार्यका लागि सबै प्रगतिशील, लोकतान्त्रिक र देशप्रेमीहरूलाई आह्वान पनि गरेको छ।
साथै तोकिएकै समयमा निर्वाचन गराउनका लागि वातावरण बनाउन सबै पक्षहरूलाई प्रलोपाले आह्वान गरेको छ। उसले जेनजी आन्दोलनको म्याण्डेट यथाशीघ्र पूरा गरी भ्रष्टाचारीलाई छानबिन गरी कारबाही गर्न माग गरेको छ। त्यसैगरी भदौ २३ र २४ गते सरकारी पक्षबाट भएको नरसंहारको छानबिन गर्न गठित आयोगले तीव्र गतिका काम अगाडी बढाउन र दोषीलाई कारबाही सिफारिस गर्न प्रलोपाले माग गरेको छ।
आगामी निर्वाचनमा विदेशमा रहेका प्रवासी नेपालीको मतदान अधिकार सुनिश्चित गर्न पनि प्रलोपाले माग गरेको छ। नेपालभित्रै अन्य जिल्लामा रही आफ्नो मतदान केन्द्रमा पुगी मत प्रदान गर्न नसक्ने मतदाताका लागि आफू रहेकै स्थानबाट मत प्रदान गर्न मिल्ने व्यवस्था गर्न पनि प्रलोपाले माग गरेको छ।
Shares

प्रतिक्रिया