राजनीति


ओलीलाई लक्षित गर्दै प्रचण्ड: अहंकारीलाई जनताले सबक सिकाउने बेला भएको छ

ओलीलाई लक्षित गर्दै प्रचण्ड: अहंकारीलाई जनताले सबक सिकाउने बेला भएको छ

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १६:५७, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनगढीमा आयोजित सन्देश सभामा देश गम्भीर राजनीतिक मोडमा पुगेको बताउँदै वामपन्थी तथा देशभक्त शक्तिहरूबीच बृहत् एकता अपरिहार्य भएको बताइका छन्। 

आगामी चुनाव देशको निकासको मुख्य मार्ग भएको भन्दै उनले सबैलाई निर्वाचन प्रक्रियामा गम्भीरतापूर्वक जुट्न अपिल गरे। 

सभालाई सम्बोधन गर्दै प्रचण्डले सुदूरपश्चिम प्रदेशसँग आफ्नो विशेष भावनात्मक र राजनीतिक सम्बन्ध रहेको उल्लेख गरे। गणतन्त्र स्थापना पश्चात सबैभन्दा धेरै संवाद, भ्रमण र विकास पहल सुदूरपश्चिममै गरिएको उनको भनाइ थियो। 

'सुदूरपश्चिममा जनयुद्ध र जनआन्दोलनमा अपार बलिदान भएको छ। त्यही बलिदानको कदर गर्दै हामीले पछिल्ला वर्षहरूमा यो क्षेत्रलाई निरन्तर प्राथमिकतामा राख्यौँ,' संयोजक प्रचण्डले भने। 

संयोजक प्रचण्डले हालै गठन भएको नेपाली कम्युनिस्ट पार्टी १५ वटा कम्युनिस्ट घटकहरूको ऐतिहासिक एकताको परिणाम भएको उल्लेख गर्दै यसले देशभर नयाँ ऊर्जा पैदा गरेको उल्लेख गरे।

एमालेभित्रका देशभक्त तथा क्रान्तिकारी कार्यकर्तालाई पनि यस पार्टीमा एकताबद्ध हुन आग्रह गर्दै उनले भने, 'अब कोही माओवादी, कोही समाजवादी, कोही केन्द्रीय-भन्नुपर्ने आवश्यकता छैन। सबै 'नेपाली कम्युनिस्ट' यही भावना अनुसार पार्टीको नाम राखिएको हो।'

देशव्यापी चर्चामा रहेको जेएनजी आन्दोलनबारे बोल्दै प्रचण्डले २३ र २४ गतेका घटनालाई  'नरसंहार' का रूपमा चित्रित गरे। युवापुस्ताका मागहरू जायज रहेको पुनः दोहोर्‍याउँदै उनले सरकारको बल प्रयोग गलत भएको बताए। 

उनले राजनीतिक नेतृत्व तथा अभिभावकहरूलाई आत्मालोचना गर्नुपर्ने बताए, 'हामीले आफ्नै छोराछोरी, नाति–नातिनातर्फ पर्याप्त ध्यान दिन सकेनौँ। उनीहरू इन्टरनेट र एआईको नयाँ संसारमा पुगे। हामी सबैले घर-परिवारबाटै युवालाई इतिहास, राष्ट्र र समाजबारे शिक्षित बनाउनै पर्छ।'

प्रचण्डले देश केही महिनाअघिको राजनीतिक संकट अत्यन्त गम्भीर मोडमा पुगेको बताउँदै भदौ २६ गते राति 'गणतन्त्र खारेज हुनसक्ने' सम्मको चर्चा चलेको स्मरण गरे। 

सो रात राष्ट्रपति कार्यालयबाट आकस्मिक बोलाहट आएपछि उनले र माधवकुमार नेपालले शीतल निवास पुगेर संविधान र प्रणालीलाई जोगाउन सक्रिय भूमिका खेलेको बताए।

'राष्ट्र विहीनजस्तै अवस्था आएको थियो। त्यस्तो संकट दोहोरिन नदिन वाम–देशभक्तहरूको ठूलो एकता आवश्यक छ,' संयोजक प्रचण्डले भने। 

आगामी निर्वाचन नै देशलाई स्थिरता दिने मार्ग भएको स्पष्ट गर्दै प्रचण्डले विगतमा संसद विघटनमा संलग्नहरूले अहिले पुनःस्थापनाका कुरा उठाउनु बेमौसमको बतास जस्तै भएको टिप्पणी गरे।

एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ इंकित गर्दै, 'देशलाई उल्टो बाटोमा लैजाने दम्भी र अहंकारी प्रवृत्तिलाई जनता आफैंले सबक सिकाउने बेला आएको छ।'

साथै, उनले सबै शक्ति मिलेर कृषि, उद्योग, पर्यटन, जडीबुटी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमार्फत देशको कायापलट गर्न आवश्यक रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad