नेकपा एमालेको दोस्रो शक्तिशाली पद महासचिव हो। अध्यक्ष कार्यकारी हुँदा संगठन र समग्र मोर्चा महासचिवले हेर्ने गर्छन्। अझ महासचिवलाई उत्तराधिकारी पद पनि भन्ने गरिन्छ।
भूमिगत कालदेखि लामो समय एमालेमा महासचिव नै कार्यकारी पद थियो। अध्यक्षात्मक प्रणालीमा गएपछि पनि महासचिवलाई सांगठनिक पकड हुने दोस्रो कार्यकारी पदका रूपमा लिने गरिन्छ।
त्यही भएर पनि यो पद हात पार्न नेताहरूबीच तीव्र प्रतिस्पर्धा हुने गरेको छ। तर, महासचिव बन्नका लागि नेताबीच कडा प्रतिस्पर्धा उतिबैलैदेखि भइरहेको छ। एघारौँ महाधिवेशनमा पनि चर्को प्रतिस्पर्धा हुने देखिएको छ।
यसपटक मंसिर २७–२९ मा एमालेको एघारौँ महाधिवेशन हुँदैछ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका दुई वटा प्यानल बन्ने सम्भावना रहेको नेताहरू बताउँछन्। विद्या–ईश्वर प्यानल बनेपछि पदाधिकारीका १५ वटा पदमा चुनाव त हुन्छ नै, त्यसमाथि महासचिवको चुनाव थप रोचक हुनसक्ने उनीहरूको अनुमान छ।
महासचिवमा यसपटक हाइ–प्रोफाइलहरू आमनेसामने हुनसक्ने दुवै गुटका नेताहरूको भनाइ छ। अध्यक्ष उठ्ने निश्चित गरेका ओलीले अन्य पदाधिकारीका विषयमा अहिलेसम्म कुनै संकेत दिइसकेका छैनन्।
तर, विद्या–ईश्वर समूहका कारण दबाबमा रहेका उनले ढुक्कले जित्नसक्नेलाई मात्र पदाधिकारी बनाउन सक्छन्। तीन उपाध्यक्ष र दुई सचिव विद्या–ईश्वर पक्षमा खुलेपछि नेताको व्यवस्थापन गर्न उनलाई कठिन छैन।
त्यसो हुँदा पनि आकांक्षी धेरै छन्। कसैलाई बढुवा गर्नुपर्नेछ। यसअघि स्थायी समिति र पोलिटब्युरोमा रहेका लामो समय काम गरेका नेतालाई पदाधिकारी बनाउनुपर्ने दबाब उनीमाथि छ। यस्तो अवस्थामा महासचिव छान्न ओलीलाई कठिन छ।
किनकि, अध्यक्षपछिको शक्तिशाली पदमा विश्वासिलो नेता पनि उनले ल्याउनुपर्ने हुन्छ। त्यसमाथि आफैँलाई लामो समय साथ दिएका ईश्वर पोखरेलले अर्कै समूह खडा गरेपछि ओलीले थप होसियारी अपनाउनुपर्ने हुन्छ।
यी सबै बाध्यताका बीच दसौँ महाधिवेशनमा महासचिव निर्वाचित शंकर पोखरेल नै उनको पहिलो रोजाइमा पर्ने निकटस्थहरू बताउँछन्। ओलीलाई निरन्तर साथ दिएका उनी एमालेभित्र वैचारिक नेता मानिन्छन्। उनलाई महासचिवमा दोहोर्याउने योजनामा ओली रहेको उनी निकट नेता बताउँछन्।
तर, ओलीसँगै रहेका उपमहासचिव प्रदीप ज्ञवाली महासचिव पदका अर्का बलिया दाबेदार हुन्। बौद्धिक र मिजासिलो स्वभावका ज्ञवाली ओलीको मन जितेर विश्वास आर्जन गरेका नेता हुन्।
ओलीले २०७८ असोजमा भएको पहिलो विधान महाधिवेशनको प्रतिवेदन पोखरेललाई पढ्न लगाएर महासचिव बनाउने संकेत गरेका थिए। सोही वर्षको मंसिरमा भएको दसौँ महाधिवेशनमा पोखरेल ओलीका महासचिव उम्मेदवार बने र जिते।
गत भदौ २०–२२ ललितपुरमा भएको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष ओलीको प्रतिवेदन ज्ञवालीले वाचन गरेका थिए। त्यसैले कतिपय नेताहरू एघारौँ महाधिवेशनमा ओलीको महासचिव उम्मेदवार ज्ञवाली हुनसक्ने अड्कल गर्छन्। ज्ञवालीले पनि महासचिव हुने चाहना प्रकट गरिसकेका छन्।
यस्तै, उपमहासचिवको दोस्रो नम्बरमा रहेका पृथ्वीसुब्बा गुरुङ पनि महासचिवका दाबेदार हुन्। नेतृत्वले टुंगो नलगाए आफूले महासचिवमा उम्मेदवारी दिने उनको भनाइ छ।
तर, दसौँ महाधिवेशनमै उपाध्यक्ष, महासचिव र उपमहासचिव रहेका अधिकांश नेतालाई दोहोर्याउनुपर्ने दबाब ओलीमाथि छ।
‘एघारौँ महाधिवेशनमा धेरै नेताहरू पदाधिकारीमा दोहोरिने सम्भावना छ,’ ओलीनिकट एक नेताले नेपालखबरसँग भने, ‘अन्तिम क्षणसम्म पनि परिस्थिति बदलिन त सक्छ, तर त्यत्रा नेता लगेर कहाँ थन्क्याउने?’
यसपटक दुई समूह लड्ने भएकोले पनि आफ्ना नेता टिकाउन पर्ने ती नेता बताउँछन्।
‘बाहिर अर्काे समूह बनिसक्यो,’ ती नेताले थपे, ‘यो महाधिवेशन धेरै हिसाबले चुनौतीपूर्ण बन्नसक्ने कुरालाई नेतृत्वले गम्भीरतापूर्वक लिएको छ।’
तर, पोखरेललाई उपाध्यक्षमा बढुवा गरेर सो स्थानमा ज्ञवालीलाई ल्याउने ठाउँ ओलीलाई छ।
तथापि, विद्या–ईश्वर समूहमा खुल्ने नेताहरू यकिन भएपछि मात्र ओलीले आफ्नो समूह सार्वजनिक गर्ने नेताहरूको भनाइ छ।
ओलीलाई महाधिवेशनमा धक्का दिने रणनीति बुनिरहेको विद्या–ईश्वर समूहमा पनि महासचिवका आकांक्षी छन्।
दसौँ महाधिवेशनमा सचिव जितेका गोकर्ण विष्ट र योगेश भट्टराई यो समूहबाट महासचिव उम्मेदवार बन्न चाहेका छन्।
तर, योजना परिवर्तन हुनसक्ने भएको भन्दै पोखरेलले सुरेन्द्र पाण्डेलाई महासचिवको उम्मेदवार बन्ने तयारीमा रहन भनेका छन्। पाण्डे दसौँ महाधिवेशनमा उपाध्यक्ष निर्वाचित भएका हुन्।
‘उहाँलाई महासचिव पनि बन्नुपर्ने हुनसक्छ, तयार रहनू भनेर हामीले भनेका छौँ,’ विद्या–ईश्वर समूहका एक नेताले भने।
उपाध्यक्ष भइसकेको भएर पाण्डे तयार नभए यो समूहबाट योगेश भट्टराई र विष्टमध्ये एक जना महासचिव उम्मेदवार बन्ने देखिन्छ।
Shares

प्रतिक्रिया