राजनीति


विद्या–ईश्वर समूहले प्यानलै उठाउँदा यस्तो बन्न सक्छ ओलीको पदाधिकारी टिम

आठ पदाधिकारी पुरानै रहँदा, दर्जन बढी नेता सचिवका आकांक्षी
विद्या–ईश्वर समूहले प्यानलै उठाउँदा यस्तो बन्न सक्छ ओलीको पदाधिकारी टिम

सागर न्यौपाने
मंसिर ११, २०८२ बिहिबार १०:५०, काठमाडौँ

नेकपा एमालेका नेताहरूलाई महाधिवेशन लागिसकेको छ। प्रतिनिधि छनौटसँगै पदाधिकारीका लागि नेताहरूले लबिइङ थालिसकेका छन्। अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर आकांक्षीहरूले आफूले उठ्न चाहेको पदबारे अनौपचारिक जानकारी गराएका छन्। 

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंगलबार नै ११ औँ महाधिवेशनमा अध्यक्ष उठ्ने घोषणा गरिसकेका छन्। यससँगै तेस्रो कार्यकाल अध्यक्ष बन्ने योजनामा रहेका ओलीसँग उनको प्रतिस्पर्धा हुने निश्चित भएको छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आडमा पोखरेल अघि सरेपछि एमालेको महाधिवेशन मानिसहरूको चासो अझ बढेको छ। किनकि, विद्या–ईश्वर समूहले अब बाँकी १४ पदाधिकारीमा पनि यसैगरी उम्मेदवारी दिने सम्भावना रहेको नेताहरू बताउँछन्।

उनीहरू केन्द्रीय समितिसम्म उम्मेदवारी उठाउने योजनामा छन्। त्यसो हुँदा तेस्रो पटकका लागि अध्यक्ष उठेका ओलीले पदाधिकारीमा कसकसलाई उठाऊलान् भन्ने चासो छ।

निकट नेताहरूका अनुसार ओलीले यसपटक केही नयाँ नेतालाई पदाधिकारीमा बढुवा गर्दैछन्। आफूलाई मरिमेटेर साथ दिएका, गुटगत गतिविधि नगरेका नेता ओलीको पहिलो रोजाइमा रहेको निकटस्थहरू बताउँछन्।

सचिवबाहेक अन्य पदमा भने पुरानै नेतालाई निरन्तरता दिएर पदाधिकारी चयन गर्ने सम्भावना रहेको उनीहरूको भनाइ छ। 

उनीहरूका अनुसार विद्या–ईश्वर समूहमा खुल्ने नेतातिर ओलीले विशेष ध्यान दिएका छन्। पोखरेलले अध्यक्षमा उम्मेदवारी दिने बताए पनि बाँकी पदाधिकारीबारे सो समूह मौन छ। 

यद्यपि, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे, सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्ट सचिवालय बैठकमा विद्या–ईश्वर समूहमा खुलिसकेका छन्।

२०७८ मंसिरमा एमालेको चितवनमा भएको दसौँ महाधिवेशनमा जितेकामध्ये ४ उपाध्यक्ष पोखरेलले नेतृत्व गर्ने समूहमा खुलेपछि बाँकी रहेका विष्णु पौडेल, गुरु बराल र रामबहादुर थापालाई ओलीले फेरि उपाध्यक्ष नै बनाउने सम्भावना अधिक रहेको नेताहरूको भनाइ छ।

यद्यपि, केही नेता बढुवा हुन चाहिरहेका छन्। यस्तै एमालेको संगठन हाँक्ने महासचिवमा पनि शंकर पोखरेल नै दोहोरिन सक्ने नेताहरूको भनाइ छ।

महासचिवका लागि उपमहासचिवमध्ये सिनियर रहेका प्रदीप ज्ञवालीको पनि सम्भावना छ। ओलीले विधान महाधिवेशनमा प्रतिवेदन पढ्न लगाएर त्यसको जनाउ दिएका छन्। 

तर, महासचिव रहेका पोखरेललाई बढुवा गरेर लैजाने ठाउँ नभएपछि पुरानैलाई निरन्तरता दिनुपर्ने उनलाई बाध्यता छ।

महासचिवका लागि पृथ्वीसुब्बा गुरुङ पनि दाबेदार हुन्।

यस्तै, उपमहासचिवमा पनि पुरानै अनुहार दोहोर्‍याउनुपर्ने ओलीमाथि दबाब छ। अहिले भएका तीनैजना उपमहासचिव ओलीका खास र निकट हुन्। 

मरिमेटेर साथ दिएकाले तीनै जनाको व्यवस्थापन एकैपटक गर्दा न्याय दिन पनि पुरानै जिम्मेवारी दिनुपर्नेछ। 

‘दसौँ महाधिवेशनमा जित्नुभएकै उपाध्यक्ष, महासचिव र उपमहासचिव दोहोर्‍याएर लैजान उहाँको जोड हुनेछ, त्यसो गर्दा उहाँलाई ढुक्कले साथ दिएका साथीहरूमाथि न्याय हुन्छ, टिमपनि परिपक्व बन्छ,’ एक सचिवालय सदस्यले नेपालखबरसँग भने। 

त्यही भएर पनि ओली यसपटक विद्या–ईश्वर समूहमा खुल्ने अन्य नेता यकिन भएपछि मात्र आफ्नो टिम निर्माण गर्ने योजनामा छन्। 

केही उपाध्यक्ष विद्या–ईश्वर समूहमा खुलेको अवस्थामा ओलीको टिममा फेरबदल हुने नेताहरूले बताए।  

यसपटक नयाँ अनुहारका नेतालाई पदाधिकारी बनाएर पार्टी हाँक्ने योजना रहेको ओलीले आफू निकटसँग बताउँदै आएका छन्। 

‘पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिताउनु राजनीतिक आवश्यकता हो। त्यो परिपुरणका लागि पार्टीलाई एकताबद्ध राख्नुपर्छ,’ अर्का सचिवालय सदस्यले भने, ‘यसपटकको जोड पुरानैमा हुने देखिन्छ। तर, यसबारे मसिनो ढंगले छलफल भइसकेको छैन।’

ककसलाई बढुवा गर्दैछन् ओली?
यस पटक सचिव पदमा मात्र नयाँ नेताको इन्ट्री हुने नेताहरू बताउँछन्। एमालेमा ७ जना सचिव रहन्छन्। 

योगेश भट्टराई र गोकर्ण विष्ट विद्या–ईश्वर समूहमा खुलिसकेका छन्। छविलाल विश्वकर्मा, पद्मा अर्याल, रघुवीर महासेठ, लेखराज भट्ट दसौँ महाधिवेशनमै जितेका सचिव हुन्।

बाँकी ३ जना सचिवका लागि स्थायी र पोलिटब्युरोबाट नेताहरू बढुवा हुनेछन्। तर, सचिव पदमा धेरै नेताले दाबेदारी पेस गरिरहेका छन्।

कोसीबाट अहिले प्रचार एवं प्रकाशन विभाग प्रमुख रहेका राजेन्द्र गौतम, स्थायी कमिटी सदस्य एवं जनसम्पर्क समन्वय प्रमुख भानुभक्त ढकाल, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र शेरधन राईले सचिव बन्न चाहेका छन्।

यस्तै, कर्णालीमा यामलाल कँडेल र गोरख बोगटी दाबेदार छन्। गण्डकीमा खगराज अधिकारी र किरण गुरुङ बलिया दाबेदार हुन्। यस्तै, बागमतीमा राजन भट्टराई, कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ, महेश बस्नेत सचिव बन्ने प्रयासमा छन्।

बस्नेतले अध्यक्ष ओलीलाई भक्तपुरको गुण्डुमा लगेर बसोबासको व्यवस्थापन मिलाइदिएका छन्। पछिल्ला दिन ओलीको विश्वास जित्न उनले भएभरको बल लगाएका छन्। 

‘पदाधिकारीमा सिट सीमित छ, आकांक्षी धेरै हुनुहुन्छ, त्यसमा क्लस्टर मिलाउनुपर्छ, महिला पनि समेट्नुपर्छ,’ अर्का सचिवालय सदस्यले भने, ‘यदि दुई वटै प्यानल बन्यो भने परिस्थिति अर्कै बन्छ। पदाधिकारीमा महिला अनिवार्य छ। त्यसमा पनि क्लस्टर मिलाउनुपर्छ, त्यसो गर्दा पुरानो जो छन्, उनीहरू कायमै रहनसक्ने देखिन्छ,’ उनले थपे।   

उपाध्यक्ष गुरु बराल भने महाधिवेशन प्रतिनिधि छानिसकेपछि मात्र नेतृत्व निर्माणतर्फ ध्यान दिने बताउँछन्। 

‘अहिले देशभरबाट प्रतिनिधि छनौटलाई मूल प्राथमिकता दिनुपर्छ। नेतृत्व निर्माणको चरण १४ गते पछि हो,’ उनले भने।

उपमहासचिव प्रदीप ज्ञवालीले पनि पदाधिकारीका विषयमा छलफल नभएको बताए। 

नेताहरूका अनुसार पदाधिकारी संख्या बढ्न सक्ने सम्भावना छ।

एमालेले भदौमा गरेको विधान महाधिवेशनबाट १९ जनाको पदाधिकारीलाई झारेर १५ मा कायम गरेको थियो। यस्तै, स्थायी कमिटीको संरचना पनि हटाएको थियो।

‘आकांक्षी धेरै हुँदा पदाधिकारीको संख्या बढाउने कि भन्ने विषयमा सामान्य छलफल चल्न थालेको छ,’ एक नेताले भने, ‘केही नेतालाई बढुवा नगरी नहुने छ। तर, टुंगिएको छैन। त्यही हिसाबले हामीले अरु पदाधिकारीको बारेमा मसिनो गरी छलफल गरेका छैनौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad