पार्टीको महाधिवेशनको तालिका ल्याउने/नल्याउने विषयमा नेपाली कांग्रेसको संस्थापन समूह विभाजित भएको छ। बिहीबार भएको छलफलमा सभापति शेरबहादुर देउवानिकटका नेताहरू विभाजित भएका हुन्।
पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार महाधिवेशन चुनावपछि गर्ने विषयमा छलफल भएको बताए। उनले भने, 'पार्टीको महाधिवेशन नियमित नै गर्ने र चुनावपछि गर्ने मै छलफल केन्द्रित भयो।'
आजको छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का भने छलफलमा आफ्नो धारणा राख्दै नराखी बिचमै बाहिरिएका छन्।
आज नेता रमेश लेखकले अहिलेसम्म भएका छलफलका विषयमा ब्रिफिङ गरेका थिए।
'चुनावअघि तालिका ल्याउनुपर्छ भने प्रस्तावमा पनि छलफल भयो। मैले पनि यो कुरा राखेँ। सोहीअनुसार कुरा भइरहेको छ। सबैलाई समेट्ने विकल्पमा कुरा भएको हो,'अनि विशेष माग्नेहरूलाई घर पठाउने रणनीति हो? भन्ने प्रश्नमा उनले भने, 'हो उनीहरूको कुरालाई सम्बोधन गर्ने गरी तालिका ल्याएर घर पठाउने विषयमा कुरा गरिरहेका छौँ। छलफलहरू सकारात्मक छन्।'
लेखकको यो प्रस्तावलाई सहमहामन्त्री भीष्मराज आङ्देम्बे, मीन विश्वकर्मासहितले सहमत जनाएका थिए। उनीहरूले चुनावमै केन्द्रित हुन महाधिवेशन प्रतिनिधिहरूलाई पनि स्थानीय स्तरमै खटाउनुपर्ने बताएका थिए।
'चुनाव सरे महाधिवेशन हुन्छ तर हामीले पार्टी महाधिवेशन र चुनावको तयारी एकै साथ गर्न समस्या हुन्छ,' बैठकमा नेता आङ्देम्बेले भनेका थिए, 'विशेष महाधिवेशन माग्नेहरूलाई घर पठाउनका लागि पनि महाधिवेशनको तालिका त ल्याउनुपर्यो नि।'
केही नेताहरूले भने महाधिवेशनको तालिका ल्याउनु नक्कली काम हुने र यस्तो काम पार्टीभित्र बेइमानी हुने तर्क गरेका थिए। नेताहरूले चुनाव र महाधिवेशन अहिलेको अवस्थामा के कुरा प्राथमिकता दिने भन्ने स्पष्ट हुनुपर्ने पनि बताएका थिए।
संस्थापन पक्षका नेताहरू विमलेन्द्र निधि र कृष्ण सिटौलासहितले लोकप्रियताका लागि चुनावअघि महाधिवेशन गर्ने भनेर तालिका ल्याउन नहुने बताए।
Shares

प्रतिक्रिया