राजनीतिक विश्लेषक हरि शर्माले नेपाली कांग्रेसको केन्द्रीय समितिले विशेष महाधिवेशन पक्षधरलाई बिरालोले मुसा खेलाएझैँ गरेको टिप्पणी गरेका छन्। कांग्रेस विशेष महाधिवेशन पक्षधरले आयोजना गरेको सभालाई सम्बोधन गर्दै शर्माले यस्तो टिप्पणी गरेका हुन्।
'म नेपाली कांग्रेसको सदस्य छैन। तर पार्टीकै छहारीमा हुर्केको नागरिक हुँ,' उनले भने, 'तपाईंहरूको केन्द्रीय समितिले तपाईंहरूलाई बिरालोले मुसा खेलाएकोजस्तो खेलायो, त्यो देखेर मलाई चित्त दुखेर आयो। तपाईंहरूलाई अपहेलना गरेको देख्दा नागरिकको हैसियतले मन रोयो।' उनले विशेष महाधिवेशनवालाहरूलाई साथ दिनुपर्छ भन्ने लागेर आफू कार्यक्रममा आएको पनि बताए।
पार्टीको विधानबमोजिम विशेष महाधिवेशन माग गर्दा पनि नेतृत्वले नसुनेको भन्दै उनले आपत्ति जनाए।
'लोकतन्त्रमा कुनै किसिमको कालो बादल आयो भने मेरो नागरिक चेत खलबलिन्छ। कुनै समयमा हामीले नेताको विवेकमा पार्टीलाई छाडेको हो,' उनले भने, 'तपाईंहरूले बढो मेहनत गरेर आफ्नो अधिकार आफ्नो हातमा लिनुभएको छ, म यहाँ तपाईंहरूलाई सलाम गर्न आएको हो। विधानमा व्यवस्था भएअनुसार विशेष महाधिवशेन माग्दा सुन्न नसक्ने? जुन किसिमको तिरस्कार कुरा यहाँ सुनेँ, त्यसले लोकतन्त्र बलियो होलाजस्तो मलाई लाग्दैन।’
भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सभापति शेरबहादुर देउवा कुटिँदा कांग्रेस पार्टी कहाँ थियो? भन्दै उनले प्रश्न पनि गरेका छन्। 'नेताहरूले गल्ती स्वीकार गरेको खासै सुनिँदैन, गगन थापाले गल्ती स्वीकार गरेको सुनेँ, गल्ती स्वीकार गर्नु नेतृत्वको ठूलो कुरा हो। अहिलेको जस्तो अराजकता त दरबार हत्याकाण्डका बेला पनि थिएन। यो राज्य भत्केको होइन, पग्लेको हो’ शर्माले भने।
शर्माले पछिल्लो परिस्थितिलाई राष्ट्रपतिले सम्हालेको पनि बताए। राष्ट्रपतिले सुझबुझ नपुर्याएको भए नेताहरू आज जेलमा हुने पनि बताए।
'गणतन्त्र र राष्ट्रपतिले जोगाएको हो हामीलाई, नत्र आज नेताहरू नख्खु जेलमा हुन्थे। रक्षा बमलगायतले प्रधान सेनापतिलाई तपाईंले कू गर्न खोजेको हो भनेर गरेको प्रश्नले लोकतन्त्र जोगाएको हो, प्रश्नले लोकतन्त्र जोगाउँछ’ उनले भने, 'नेतृत्वको हैकम तपाईंहरूले बुझ्नुभएको छ, लोकतन्त्रमा देश, समाज र नागरिकको भविष्य रहन्छ। त्यसको संवाहक झण्डा बोक्ने तपाईंहरू हो। कांग्रेसले चुनावमा जाने निर्णय गरेर अरू पार्टीलाई पनि त्यसतर्फ डोहोर्यायो।’
Shares

प्रतिक्रिया