राजनीति


कांग्रेसले विश्वकै लामो बैठक बस्दा पनि निष्कर्ष निकालेन: गुरुराज घिमिरे

कांग्रेसले विश्वकै लामो बैठक बस्दा पनि निष्कर्ष निकालेन: गुरुराज घिमिरे

नेपालखबर
मंसिर १०, २०८२ बुधबार १४:७, काठमाडौँ

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी केन्द्रीय समिति बैठक डेढ महिना लामो समय बस्दा पनि निष्कर्ष ननिकालेको भन्दै नेतृत्वमाथि प्रश्न गरेका छन्। पार्टीको विशेष महाधिवेशन माग गर्नेहरूको भेलालाई सम्बोधन गर्दै उनले विश्वमै कुनै पनि पार्टीको बैठक यति लामो समयसम्म नबसेको पाइएको बताएका हुन्।  

'हामी बिग्रिएका छौँ। अगाडिका बाटो हेरेर सच्चिएर अघि बढ्ने हो। हामीले यसो भन्दै गर्दा विश्वमा कीर्तिमान राख्ने गरी केन्द्रीय समिति बैठक बसेको छ,' उनले भने, 'पार्टीका नेता देवराज चालिसेले दलको बैठक कतिसम्म लामो बसेको रहेछ भनेर गुगल गर्नु भएछ- चिनियाँ कम्युनिस्ट पार्टीको बैठक २३ दिन बसेको रहेछ। हाम्रो त डेढ महिना। भोलि बैठक बस्ने भनिएको छ। सर्ने हल्ला पनि छ। सर्ने हल्ला सत्य हुन्छ यहाँ।'

असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्ने निष्कर्ष निकाल्न सकेको छैन। 

उनले मुलुकलाई निकास दिन कांग्रेसको विशेष महाधिवेशन अपरिहार्य भएको पनि बताए। यसअघि समयमै महाधिवेशन नभएको प्रसंग निकाल्दै उनले भने, 'विशेष महाधिवेशन माग गरेका छौँ। केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको छ।  अगाडिका महाधिवेशन ४ वर्षमा भएनन्। ५ वर्षमा भएनन्। अब यस्तो हुनुहुँदैन। हाम्रो विधानको व्यवस्थालाई सुचारु गर्नुपर्छ भनेर हामीले नेतृत्वलाई आग्रह गर्‍यौँ। ३ वर्ष बित्यो। हामीले महाधिवेशन प्रक्रिया अघि बढाउन भन्यौँ सुनिएन।'

उनले ३६ वर्षसम्म सरकारमा रहेको कांग्रेसले के कमजोरी गर्‍यो भन्नेबारे समीक्षा गर्नुपर्ने अवस्थामा पुगेको पनि बताए। समीक्षाका लागि विशेष महाधिवेशन अपरिहार्य भएको घिमिरे बताउँछन्।  

'महाधिवेशन चाहने साथीहरूले छलफल गर्‍यौँ एउटा निष्कर्षमा पुग्यौँ २४८८ जनाको हस्ताक्षर केन्द्रमा बुझायौँ,' उनले भने, 'कार्यवाहक सभापतिलाई निवेदन बुझाउँदै गर्दा भन्यौँ- यो झगडा हैन, अनुशासनहीन काम पनि हैन हाम्रा संस्थापकले देखाएको बाटो हो।'   

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भएको भेला विशेष महाधिवेशन पक्षधरले २०१४ सालमा भएको कांग्रेसको प्रथम विशेष महाधिवेशनमा सहभागी रहेका नेता ओमकार श्रेष्ठको अध्यक्षतामा सुरु भएको हो।  

भेलामा संस्थापन र संस्थापनइतर पक्षका केही केन्द्रीय सदस्यहरू उपस्थित छन्। केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, तारामान गुरूङ, अजयबाबु शिवाकोटी सहभागी भएका हुन्। तारामान गुरूङ सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्य हुन्।  

उनीसहित देउवानिकट २७ केन्द्रीय सदस्यहरू चुनावअघि नियमित महाधिवेशन हुनुपर्ने पक्षमा छन्। साथै लुम्बिनी कांग्रेस सभापति अम्मरसिंह पुन र गण्डकी सभापति शुक्रराज शर्मा पनि विशेष महाधिवेशन पक्ष भेलामा उपस्थित भएको रमेश धमलाले जानकारी दिए। 
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad