नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन कार्यकर्तालाई निर्देशन दिएका छन्।
अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टीको गठन गरेकोले अब सबै नयाँ भएको बताए।
उनले भने, ‘हामीले भर्खरै १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टीको गठन गरेका छौँ। म तपाईहरुलाई फेरि पनि भन्न चाहन्छु, अव यो नयाँ पार्टी भएको छ। त्यसो भएको हुनाले पुरानो पार्टीको धङधङीबाट मुक्त पनि हुनुपर्छ। यो महशुस नहोस्, मनोविज्ञानलाई पनि बुझेर चल्नुपर्छ। त्यसो हुनाले प्रशिक्षणको पनि आवश्यक्ता छ।’
उनले पेरिसडाँडा मेरो, आलोकनगर तपाईंहरूको भन्ने मानसिकताबाट मुक्त हुन पनि आग्रह गरे। यो संगठन मेरो, अर्को संगठन अरुको भन्ने भ्रममुक्त भएर अब सबै जनसंगठनहरूलाई एकतावद्ध गर्नुपर्नेमा उनले जोड दिए।
नेता नेपालले इतिहासको चर्चा गर्दाखेरि पनि २०५२ सालदेखिको मात्रै नभएर २००६ सालदेखिको चर्चा गर्न पूर्वमाओवादी कार्यकर्ताहरूलाई आग्रह गरे। २०२८ सालदेखि झापा विद्रोहको चर्चा गर्नुपर्ने उनको भनाई छ।
उनले पार्टीमा योगदान भएका सबै नेताहरूको बारेमा चर्चा गर्न पनि कार्यकर्तालाई निर्देशन दिए।
उनले नेकपा एमालेका कार्यकर्ताहरूले अध्यक्ष केपी ओलीलाई ‘बा’ भन्ने गरेकोप्रति कटाक्ष गर्दै पार्टी भित्र ‘बा’ प्रवृत्ति हावी हुन दिन नहुने बताए। एउटा मात्रै नेताको मात्रै चर्चाले आफूहरूको पार्टीभित्र पनि बा भन्ने प्रवृति हावी हुने उनको भनाई छ।
उनले भने, ‘पेरिसडाँडा मेरो, आलोकनगर तपाईहरुको भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ। यो संगठन मेरो, अर्को संगठन अरुको भन्ने भ्रममुक्त हुनुपर्छ। अब एउटै पार्टी बनाएका छौँ। सबै जनसंगठनहरुलाई पनि एकतावद्ध गर्नुपर्नेछ। इतिहासको चर्चा गर्दाखेरि पनि ५२ सालदेखीको मात्रै होईन २००६ सालदेखिको चर्चा हुनुपर्छ। २०२८ सालदेखि झापा विद्रोहको चर्चा हुनेछ। एउटा नेताको मात्रै हुनेछैन, अनेकौँ नेताहरुले खेलेको महत्वपूर्ण भुमिकालाई पनि स्मरण गुर्नपर्छ। नभए हामीभित्र पनि बा भन्ने प्रवृति हावी हुनेछ। बा प्रवृत्तिबाट मुक्त हौँ, हामी।’
नेता नेपालले एक, अर्काप्रतिको विश्वासले पार्टीलाई नेपाली जनताको आशा र भरोसाको केन्द्रको रुपमा विकास गर्नुपर्ने बताए।
Shares

प्रतिक्रिया