उज्यालो नेपाल पार्टीले संगठन विस्तारको औपचारिक सुरुवात गर्दै पहिलो प्रदेश कमिटी गठन गरेको छ।
कुलमान घिसिङको नेतृत्वमा बनेको उक्त नयाँ राजनीतिक दलले बागमती प्रदेशबाट आफ्नो संरचना विस्तारलाई तीव्रता दिएको हो।
मंसिर ५ गते दल दर्ताको प्रमाणपत्र प्राप्त गरेपछि पार्टीले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा केन्द्रित हुँदै संगठन विस्तारका गतिविधि अघि बढाएको हो।
सोमबार इन्द्रेणी बैंक्वेटमा बसेको प्रदेशस्तरीय भेलाले प्रविण तामाङको संयोजकत्वमा ७५ सदस्यीय बागमती प्रदेश अधिवेशन आयोजक कमिटी गठन गरिएको पार्टीका नेता जीतराम वाइबाले जानकारी दिए।
‘बागमती प्रदेशबाट संगठन विस्तारको सुरुवात भएको छ,’ वाइबाले भने, ‘अब सांगठनिक अभियानलाई अन्य प्रदेशहरूमा पनि विस्तार गर्छौँ।’
तीन मन्त्रालयको नेतृत्व सम्हालिरहेका ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङ पनि भेलामा उपस्थित रहेर कार्यकर्तालाई सम्बोधन गरेका थिए।
घिसिङले आगामी निर्वाचनमा उम्मेदवारी मनोनयनको समयमा मात्र मन्त्री पदबाट राजीनामा दिएर उज्यालो नेपाल पार्टीको प्रत्यक्ष नेतृत्व सम्हाल्ने तयारी रहेको बताइएको छ।
जेनजी आन्दोलनपछि भदौ २३ र २४ गते दर्ता भएका नयाँ दलमध्ये प्रदेश कमिटीसम्म संरचना विस्तार गर्ने उज्यालो नेपाल पार्टी पहिलो दल बनेको छ।
उज्यालो नेपाल पार्टीले मंसिर १७ गते १२ बजे प्रज्ञा भवन कमलादीमा पार्टी घोषणा सभा आयोजना गरिएको छ।
Shares

प्रतिक्रिया