नेकपा (एमाले) को भातृ संगठन ‘नेसनल भोलिन्टियर्स फोर्स’ले जेनजी अगुवाहरू सुदन गुरुङ र सम्राट उपाध्याय लगायतलाई कारबाही नगरे प्रतिरोध गर्ने चेतावनी दिएको छ।
आइतबार विज्ञप्ति प्रकाशित गरी फोर्सले नेकपा एमालेका नेताहरूमाथि आक्रमण र धम्की दिने कार्य भइरहेको भन्दै यसतो चेतावनी दिएको हो।
फोर्सका प्रमुख कमान्डर पुष्पराज श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा पछिल्लो समय ‘जेनजी’ आन्दोलनको आवरणमा एमाले नेताहरूलाई निशाना बनाइएको उल्लेख छ।
विज्ञप्तिमा वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले अपराधीलाई कारबाही गर्नुको साटो संरक्षण गरेको आरोप लगाइएको छ।
एमालेका निर्दोष कार्यकर्तालाई यथाशीघ्र रिहा गर्न र सुदन गुरुङ तथा सम्राट उपाध्याय लगायतलाई कारबाही गर्न माग गरेको छ।
‘सरकारले घटनाको संवेदनशीलता नबुझ्ने र अपराधीलाई उन्मुक्ति दिने हो भने परिस्थितिजन्य प्रतिरोधको जिम्मेवारी सरकारले नै लिनुपर्नेछ,’ फोर्सले भनेको छ।
विज्ञप्तिमा अराजक गतिविधिमा संलग्नहरूलाई सरकारले तत्काल कारबाही नगरे परिस्थितिजन्य प्रतिरोधमा उत्रने श्रेष्ठले चेतावनी दिएका छन्।
आइतबार विराटनगर एयरपोर्टबाट बाहिरिने क्रममा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि गाडीमा बेलुन प्रहार भएको विज्ञप्तिमा जनाइएको छ। उक्त घटनाको निन्दा गर्दै घटनामा संलग्न नेपाल विद्यार्थी सङ्घ (शेखर समूह) मोरङ क्याम्पस इकाई सभापति सन्जोग गौतम रहेको भोलेन्टियर्स फोर्सले जनाएको छ।
पक्राउ परेका गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको उल्लेख गर्दै फोर्सले नेपाली कांग्रेसलाई निजमाथि आवश्यक कारबाही गर्न आग्रह गरेको छ। अन्यथा, जेनजीको आवरणमा हुने अराजकता स्वीकार्य नहुने फोर्सले स्पष्ट पारेको छ।
त्यस्तै, ‘जेनजी’ आन्दोलनका योजनाकार भनिएका सुदन गुरुङ लगायतको समूहले एमाले नेता तथा पूर्वमन्त्री किसान श्रेष्ठको जितपुर सिमरा–४, औराहास्थित घरमा पुगेर परिवारका सदस्य र कामदारलाई धम्काएको प्रति पनि फोर्सले आपत्ति जनाएको छ। श्रेष्ठ काठमाडौँमा रहेको समयमा घरमा पुगेर गुन्डागर्दी शैलीमा धम्की दिइएको विज्ञप्तिमा उल्लेख छ।
गत मङ्सिर ३ गते राष्ट्रिय युवासंघ बाराको कार्यक्रममा जाँदा एमाले महासचिव शंकर पोखरेललाई सिमरा विमानस्थलमा अवरोध पुर्याउन खोज्ने समूहको पनि फोर्सले विरोध गरेको छ।
विमानस्थलको गेट भत्काउने र अराजकता फैलाउने कार्यमा संलग्न मुख्य योजनाकार सम्राट उपाध्याय खुलेआम हिँडिरहेको तर प्रहरीले उल्टै एमालेका वडाध्यक्ष र युवा सङ्घका नेताहरूलाई गिरफ्तार गरी झुटा मुद्दा लगाएको भन्दै फोर्सले घोर निन्दा गरेको छ।
देश, जनता र पार्टी पङ्क्तिको सुरक्षाका लागि ‘जनताको सुरक्षा जनता मार्फत’ भन्ने उद्देश्यले स्थापित आफ्नो सङ्गठन भएको भन्दै अब चुप लागेर नबस्ने फोर्सले जनाएको छ।

Shares

प्रतिक्रिया