कास्कीको पोखरास्थित राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणासहित ८ जना र अञ्जुली बोर्डिङ स्कुल प्रालिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौंमा सार्वजनिक सम्पती हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा पोखरा महानगरपालिका–१ का वडाध्यक्ष एवं पदेन सदस्य साहारा प्रधान, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू बरुणविक्रम राणा, सोवनाथ भट्टराई, विष्णुमाया लामिछाने र नारायणप्रसाद चापागाईं छन्।
यस्तै, अञ्जुली बोर्डिङ स्कुल प्रालि तथा उक्त प्रालिका सञ्चालक राजु केसी र प्रिन्सिपल सुनिता कुँवर केसीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ।
सामुदायिक राष्ट्रिय माध्यमिक विद्यालयको भवन कानुनविपरीत निजी बोर्डिङ स्कुललाई भाडामा दिई भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धान हुँदा उनीहरूले १५ लाख २९ हजार ४०८ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ। दायर गरिएको मुद्दामा उनीहरूसँग १५ लाख २९ हजार ४०८ रुपैयाँ बिगो मागदाबी गरिएको छ।
Shares

प्रतिक्रिया