राजनीति


सिमरा घटनापछि एमाले सचिव योगेशको अपिल: गम्भीर भएर विचार गर्न पार्टी अध्यक्षलाई निवेदन गर्छु

‘मधेसमा राजनीतिक रूपमा हामी एक्लिएका छौँ’
सिमरा घटनापछि एमाले सचिव योगेशको अपिल: गम्भीर भएर विचार गर्न पार्टी अध्यक्षलाई निवेदन गर्छु

एमालेका अध्यक्ष केपी शर्मा ओली र सचिव योगेश भट्टराई (फाइल फोटो)


नेपालखबर
मंसिर ४, २०८२ बिहिबार ९:१५, काठमाडौँ

नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेसमा पार्टीको अवस्था किन दयनीय बन्यो भन्ने विषयमा गम्भीर भएर समीक्षा गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। 

बुधबार एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत कार्यक्रमका लागि जाने क्रममा बाराको सिमरामा एमाले कार्यकर्ता र जेनजी युवाबीच झडप भएको थियो।

यसपछि बिहीबार बिहान एमाले सचिव योगेशले वक्तव्य जारी गरी विगतमा मधेसमा ‘बलियो’ रहेको पार्टी आज कमजोर बनेको भन्दै गम्भीर चिन्ता प्रकट गरेका हुन्। 

'आज मधेस प्रदेशको संसदीय फाँटमा नेकपा एमालेलाई ठुलो धक्का लागेको छ। पार्टीको सार्वजनिक छविमा गम्भीर प्रश्न उठेका छन्। प्रदेश प्रमुखको बर्खास्ती भएको छ। सभामुख पदमुक्त हुनुभएको छ (यद्यपि यसको संवैधानिक तथा संसदीय प्रक्रियाको न्यायिक परीक्षण हुने नै छ)। मुख्यमन्त्री पद अदालतको कठघरामा छ। राजनीतिक रूपमा हामी एक्लिएका छौँ। पार्टीभित्र अन्तरविरोध तीव्र बनेको छ। यो सबै किन र कसका कारणले भयो', भट्टराईले लेखेका छन्, 'मधेसमा स्वयम् पार्टी अध्यक्षले गर्नुभएको मेहनतमाथि किन, कसले र केका लागि खेलबाड गरियो? यी तमाम विषयमा गम्भीर समीक्षा हुनुपर्दछ। सोसल अडिटमा हाम्रो पार्टीको अवस्था कस्तो छ? पार्टीको जनआधार विस्तार गर्न, आन्तरिक एकतालाई सुदृढ़ गर्न, पार्टीको सामाजिक छविलाई सुधार गर्न मधेसमा नयाँ जिम्मेवारीका साथ जानुपर्दछ। यस विषयमा गम्भीर भएर विचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु।'

यस्तो छ योगेशको पूरा वक्तव्य

मधेसमा एमाले

२०७२ साल असोज ३ गते तत्कालीन संविधानसभाले नेपालको संविधान जारी गरेपछिका केही वर्ष मधेस प्रदेशमा नेकपा एमालेका लागि कठिन समयका रूपमा रह्यो। एमालेमाथि विभिन्न शक्तिहरूले धावा बोले। पार्टीका नेता तथा कार्यकर्तालाई निसाना साँधियो। पार्टी कार्यालयलगायत व्यक्तिका भौतिक सम्पत्तिमाथि पटक/पटक आक्रमण गरियो। सिंगो पार्टी र विशेषगरी मधेसमा रहेको पार्टी नेतृत्व, कार्यकर्ता र शुभेच्छुकहरूको अथक मेहनत तथा अठोटका कारण गएको संसदीय र स्थानीय निर्वाचनमा मधेस प्रदेशमा पार्टीले उल्लेख्य प्रगति गर्‍यो। नेकपा एमालेले आफूलाई पुनर्स्थापित गर्‍यो। प्रतिनिधिसभाको प्रत्यक्षमा १० सिट र प्रदेशसभामा २५ सिटसहित एमाले पहिलो पार्टी बन्यो। अन्तिम बेलामा प्रभु साहजीले घात नगरेको भए र उम्मेदवार छनोटमा अली ध्यान पुर्‍याउन सकेको भए परिणाम अझ राम्रो हुने थियो। मधेसमा पार्टीले प्राप्त गरेको यो उपलब्धिको मुख्य श्रेय पार्टी अध्यक्ष केपी ओलीलाई नै जान्छ। उहाँले मसिनो ढंगले मधेसको कामको व्यवस्थापन तथा व्यक्ति/व्यक्तिको खटनपटन गर्नुभएको थियो। पार्टी सचिव रघुवीर महासेठ, अन्य केन्द्रीय नेताहरूलगायत तहगत कमिटीको समेत भूमिका रहेको कुरा अवगत नै छ।

यसबिचमा मैले करिब १५ महिना मधेस प्रदेशको इन्चार्जको भूमिका निर्वाह गरे। त्यस अवधिमा आगामी निर्वाचनमा अझ राम्रो परिणाम ल्याउन मूलत: संगठन व्यवस्थापनको काममा केन्द्रित भएका थियौँ। प्रदेश अधिवेशन, जिल्ला अधिवेशन, सदस्यताको व्यवस्थापन, जानसंगठनको व्यवस्थापनलगायतमा राम्रो प्रगति भएको कुरा स्वयम् पार्टी अध्यक्ष र महासचिवका प्रतिवेदनमा लेखिएको छ।

मधेसमा रहेको जातीय विभेद, महिला हिंसा, दलित समुदायप्रतिको विभेदकारी व्यवहार तथा वर्गीय उत्पीडनका विरुद्ध सामाजिक न्याय र समानताको आन्दोलनमा नेकपा एमालेले गरेको वैचारिक नेतृत्व, सरकारमा रहेर भौतिक पूर्वाधारको विकास तथा मानव संसाधनमा पार्टीले गरेको योगदान, हिमाल, पहाड़ र तराई/मधेसको भौगोलिक तथा सामाजिक एकताका लागि नेकपा एमालेले निर्माण गरेको जागरण नै मधेसमा पार्टीको जनआधार विस्तारमा मुख्य पक्ष हुन भने अर्कोतिर भूमिगतकालमा समेत मधेसका आधारभूत वर्गको बलियो समर्थन पार्टीका पक्षमा रहेको थियो। त्यतिबेला जनतासँग एकाकार भएर पार्टी निर्माणमा नेतृत्व गर्ने ईश्वर पोखरेललगायतका नेताहरूलाई यसको श्रेय जान्छ। 

आज मधेस प्रदेशको संसदीय फाँटमा नेकपा एमालेलाई ठुलो धक्का लागेको छ। पार्टीको सार्वजनिक छविमा गम्भीर प्रश्न उठेका छन्। प्रदेश प्रमुखको बर्खास्ती भएको छ। सभामुख पदमुक्त हुनुभएको छ (यद्यपि यसको संवैधानिक तथा संसदीय प्रक्रियाको न्यायिक परीक्षण हुने नै छ)। मुख्यमन्त्री पद अदालतको कठघरामा छ। राजनीतिक रूपमा हामी एक्लिएका छौँ। पार्टीभित्र अन्तरविरोध तीव्र बनेको छ। यो सबै किन र कसका कारणले भयो?

मधेसमा स्वयम् पार्टी अध्यक्षले गर्नुभएको मेहनतमाथि किन, कसले र केका लागि खेलबाड गरियो? यी तमाम विषयमा गम्भीर समीक्षा हुनुपर्दछ। सोसल अडिटमा हाम्रो पार्टीको अवस्था कस्तो छ? पार्टीको जनआधार विस्तार गर्न, आन्तरिक एकतालाई सुदृढ़ गर्न, पार्टीको सामाजिक छविलाई सुधार गर्न मधेसमा नयाँ जिम्मेवारीका साथ जानुपर्दछ। यस विषयमा गम्भीर भएर विचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु।

 

सम्बन्धित समाचार :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad