राजनीति


महाभियोगबाट पदमुक्त भएका मधेसका सभामुख मण्डलले भने: म कानुनी उपचार खोज्दिनँ

महाभियोगबाट पदमुक्त भएका मधेसका सभामुख मण्डलले भने: म कानुनी उपचार खोज्दिनँ

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार ९:२९, काठमाडौँ

महाअभियोगमार्फत् बुधबार मात्रै पदमुक्त भएका मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले आफू कानुनी उपचार खोज्ने पक्षमा नभएको बताएका छन्। 

मण्डलले आज सामाजिक सञ्जालमार्फत् यस्तो घोषणा गरेका हुन्। 

‘सभामुख नियुक्ति तथा पदमुक्त विशुद्ध अंक गणितिय खेल हो। गणितसँग आचरण दाज्नु पाखण्डिपना हो,’ उनले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘नियमावली विपरित दर्ता र पास हुनु कानुनी राज्यको उपहास हो, तथापी पनि म कानुनी उपचार खोज्ने पक्षमा छैन।’

मधेस प्रदेशसभामा बुधबार मतदान हुँदा मण्डलको विपक्षमा दुई तिहाइ भन्दा धेरै मत खसेको थियो। 

पदअनुकूल आचरण नगरेको भन्दै उनीविरुद्ध गएको कात्तिक २७ गते प्रदेशसभा सचिवालयलमा एमाले बाहेकका विपक्षी दलले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। सो प्रस्ताव बुधबार प्रदेश सभामा निर्णयार्थ पेस हुँदा प्रस्तावको पक्षमा ७६ मत खसेको थियो। 

यो मत प्रस्ताव पारित हुन चाहिने २ तिहाइ भन्दा बढी हो। दुई तिहाइका लागि ७२ मत भए पुग्छ। मधेस प्रदेश सभा १०७ सदस्यीय छ।

सभामुख मण्डलले संसदीय मर्यादा विपरीत एकतर्फी ढंगले सभा सञ्चालन गरेको आरोपसहित उनलाई एमाले बाहेकका दलले पदमुक्त गरेका हुन्। मण्डल नेकपा एमालेबाट सभामुख भएका थिए। 

गत २२ गतेको प्रदेश सभा बैठक सञ्चालनका क्रममा मण्डलले कार्यव्यवस्था परामर्श समितिको निर्णय विपरीत विपक्षी दलका नेताहरूलाई रोष्टम प्रयोग गर्न नदिएको तथा सत्तापक्षीय सांसदहरूलाई मात्र बोल्न अनुमति दिएको आरोप छ। 

त्यस्तै सभामुखले विपक्षी दलहरूको अनुपस्थितिमा समेत बैठक सञ्चालन गरेको, मुख्यमन्त्रीलाई समेत रोष्टम प्रयोग गर्न नदिएको जस्ता कार्यहरू पदको आचरणविपरीत भएको भन्दै कांग्रेस, माओवादी केन्द्र, जसपा नेपाल, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीले उनलाई पदमुक्त गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad