राजनीति


सिमरा घटनापछि केन्द्रीय सुरक्षा समितिमा गम्भीर छलफल : एमालेको मंसिर ५ को कार्यक्रमबारे चिन्ता

सिमरा घटनापछि केन्द्रीय सुरक्षा समितिमा गम्भीर छलफल : एमालेको मंसिर ५ को कार्यक्रमबारे चिन्ता

उजिर कार्की
मंसिर ३, २०८२ बुधबार २२:५८, काठमाडौँ

बाराको सिमरामा बुधबार बिहान भएको दुई पक्षीय झडपबारे केन्द्रीय सुरक्षा समितिमा गम्भीर छलफल भएको छ। सिमरामा नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबीच झडप भएको छ। जसकारण सुरक्षा अवस्था बिग्रिँदा पार्टीको कार्यक्रमका लागि बारा जान लागेका एमाले नेताहरूलाई काठमाडौँमै रोकिएको छ। 

बुधबार साँझ बसेको बैठकमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा सतर्कता बढाउने र सबै पक्षलाई अनुरोध गर्ने निर्णय भएको केन्द्रीय सुरक्षा समितिका एक सदस्यले नेपालखबरलाई बताए। 

‘बारामा आज जे भयो, यो निकै गम्भीर विषय हो। तर यसलाई अन्यत्र फैलिन नदिन सबै पक्षलाई अनुरोध गर्ने भन्ने बैठकमा छलफल भएको छ,’ ती अधिकारीले भने, ‘यसले चुनावलाई मात्रै असर गर्दैन, देशकै शान्ति सुरक्षामा गम्भीर चिन्ता खडा गर्छ। त्यसैले यस्ता घटना अन्यत्र हुन नदिन सुरक्षाका आवश्यक उपायहरू अपनाउने निर्णय भएको छ।’

यस्तै सरकारका तर्फबाट राजनीतिक दलहरू तथा जेनजीका विभिन्न समूहसँग छलफल अगाडि बढाउने र स्थिति सामान्य बनाउन भूमिका निर्वाह गर्नु पर्ने पनि सुरक्षा बैठकले निष्कर्ष निकालेको छ। सबै पक्षसँग छलफल गर्दै शान्तिपूर्ण र निष्पक्ष निर्वाचनका लागि वातावरण तयार गर्न सरकारले नै अग्रसरता लिनु पर्ने सुरक्षा प्रमुखहरूको सुझाव छ। 

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा रहेको केन्द्रीय सुरक्षा समिति बैठकमा गृहसचिव रामेश्वर दंगाल, रक्षा सचिव सुमनराज अर्याल, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी सहभागी थिए। 

यता, प्रधानमन्त्री सुशीला कार्कीले दलहरूसँग बुधबार दिउँसो छलफल गरेकी छन्। छलफलमा उनले फागुन २१ गतेको निर्वाचन सफल बनाउन सबैको सहयोग आवश्यक पर्ने भन्दै त्यसका लागि भूमिका खेलिदिन दलहरूलाई आग्रह गरेकी छन्। 

बाराको सिमरामा देखिएको तनाव र हिंसा अत्यन्तै दुःखद भएको प्रधानमन्त्री कार्कीको भनाइ छ। 

‘म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन। युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ,’ दलहरूसँगको बैठकपछि प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता हो। तर यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट होइन।’

गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति तथा सुव्यवस्था कायम गर्न, सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउन उच्च संयम र पूर्ण तयारीका साथ काम गर्न निर्देशन दिएको पनि प्रधानमन्त्री कार्कीले बताएकी छन्। 

सबै पक्षलाई अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न पनि प्रधानमन्त्री कार्कीको अपिल छ। 

बारामा आफ्ना नेताहरू जान नपाएपछि सरकारले शान्ति सुरक्षा दिन नसकेको भन्दै एमाले नेताहरूले आलोचना गरेका छन्। यस्तो अवस्थामा चुनावको वातावरण नबन्ने र यो सरकारले चुनाव गराउन नसक्ने एमाले नेताहरूको दाबी छ। 

जेनजी आन्दोलनपछि अन्य दलहरू संयमित बन्दा नेकपा एमाले भने आक्रामक रुपमा प्रस्तुत भइरहेको छ। एमाले र जेनजीका विभिन्न समूहले एकअर्कालाई सार्वजनिक रुपमै चुनौती दिएर अभिव्यक्ति दिइरहेका छन्। जसका कारण एमालेका कार्यक्रममा सुरक्षा चुनौती थपिएको हो। 

यस्तै मंसिर ५ गते एमालेले काठमाडौँमा विशेष कार्यक्रम गर्दै नेसनल भोलिन्टियर फोर्स घोषणा गर्ने तयारी गरेको छ। उक्त कार्यक्रमको सुरक्षाको विषयमा पनि केन्द्रीय सुरक्षा समितिमा छलफल भएको छ।

‘पर्सिको कार्यक्रममा पनि कसरी सुरक्षा दिने भन्ने विषयमा छलफल भयो। आजको घटनाले अलिक गम्भीर बनाएको छ। तर हामी आवश्यक तयारी गर्छौँ, सुरक्षा अवस्था बिग्रन दिँदैनौँ। त्यसका लागि सबै पक्ष गम्भीर भइदिनुपर्छ। जिम्मेवार भइदिनुपर्छ,’ ती सुरक्षा प्रमुखले भने। 

बारा घटनापछि नेकपा एमाले नेताहरू र जेनजीका विभिन्न समूह आरोपप्रत्यारोपमा उत्रिएका छन्। एमालेले आफूलाई कार्यक्रम गर्नै अवरोध गरिएको दाबी गरेको छ। तर जेनजीले भने आफ्नो शान्तिपूर्ण प्रदर्शनमा एमालेका स्थानीय नेताहरूले आक्रमण गरेको आरोप लगाएका छन्।

एमालेले भने आफ्नो कार्यक्रममा माओवादीसहितका दलका कार्यकर्ताले यस्तो हर्कत गरेको आरोप लगाए पनि माओवादी (नेपाली कम्युनिस्ट पार्टी) ले अस्वीकार गरेको छ। जेनजीको प्रदर्शनमा गएर एमालेले हातपात गरेको भन्दै निवर्तमान माओवादी (नेपाली कम्युनिस्ट पार्टी) र राष्ट्रिय स्वतन्त्र पार्टीले एमालेको आलोचना समेत गरेका छन्। 

भदौ २३ र २४ गते भएको आन्दोलन लगत्तैबाट एमाले र जेनजीका विभिन्न समूहबीच दूरी बढेको थियो। आन्दोलनलगतै जेनजीको अगुवाका रुपमा आएका सुदन गुरुङले तत्कालीन प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकलाई ज्यान मार्ने कसुरमा पक्राउ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए।

तर प्रहरीले जाहेरी दर्ता नगरेपछि गुरुङको समूहले सरकारलाई दबाब दिएको थियो। ओली र लेखकलाई तत्काल पक्राउ गरेर अनुसन्धान अगाडि बढाए चुनावको वातावरण बिथोलिने सुरक्षा प्रमुखहरूको निष्कर्षपछि सरकार पछि हटेको थियो। 

यता एमालेका कार्यकर्ताले भने काठमाडौँसहित देशका विभिन्न प्रहरी कार्यालयमा पुगेर सुदन गुरुङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई सार्वजनिक, निजी सम्पत्ति आगजनी र तोडफोडको कसुरमा पक्राउ गरेर कारबाही गर्न माग गर्दै जाहेरी दिएका थिए।

प्रहरीले यी जाहेरी जाँचबुझ आयोगमा पठाइदिए पनि आयोगले फिर्ता गरेको थियो। फौजदारी कसुरमा कारबाही गर्न प्रहरीलाई बाधा नपर्ने भन्दै आयोगले फिर्ता गरेपछि प्रहरीले दुवै पक्षका जाहेरी तामेलीमा राखिदिएको छ।

जेनजी आन्दोलनमा ७६ जनाको ज्यान गएको थियो। सयौँ घाइते भएका छन्। ठूलो मात्रामा भौतिक क्षति भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad