राजनीति


प्रचण्डको साथ छाडेलगत्तै जनार्दनले त्यागे ‘कम्युनिस्ट ब्रान्ड’, विप्लव र घनश्यामले छाडेनन्

‘एकथान कम्युनिस्ट पार्टी नेपालमा अब जरुरी छैन, परम्परागत कम्युनिस्ट पार्टी यो संसारमा चल्दैन’
प्रचण्डको साथ छाडेलगत्तै जनार्दनले त्यागे ‘कम्युनिस्ट ब्रान्ड’, विप्लव र घनश्यामले छाडेनन्

सागर न्यौपाने
मंसिर १, २०८२ सोमबार ८:७, काठमाडौँ

कम्युनिस्ट नामबाट राजनीति थालेको ४८ वर्षपछि जनार्दन शर्माले सो धार छोडेका छन्। ०३४ देखि ०८२ सम्म कम्युनिस्ट पार्टीको सदस्य रहेका उनी जनयुद्ध कालमा लामो समय माओवादीको फौजी कमाण्डर नै थिए।

जिन्दगीको उर्वर समय माओवादी र कम्युनिस्ट राजनीति गरेर विताएका शर्माले ६१ वर्षको उमेरमा यी दुवै छाडेका हुन्। जबकि पुष्पकमल दाहाल प्रचण्डको साथ छाड्ने बेला उनले जनयुद्ध लडेर आएको माओवादीको विरासत आफूले बोक्ने दाबी गरेका थिए।

दुई पटक संविधान सभा र दुईपटक प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित भएका उनी ५ पटक मन्त्री बनेका थिए। तर, एक वर्षयता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग उनको सम्बन्ध सुमधुर हुन सकेन।

माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी लगायतका ११ दल मिलेर नेपाली कम्युनिस्ट पार्टी बनाउने निर्णयले भने जनार्दनको बाटो नै अलग पारिदियो। जसकारण असन्तुष्ट उनी कात्तिक १८ गते एकता प्रक्रियामा सहभागी नभई बाहिरिए। 

कात्तिक १९ गते माओवादीसहित ११ दलबीच एकता भएको थियो।

शर्माले माओवादीका आफ्ना सहयात्री राम कार्की, सुदन किराती लगायतका नेतालाई साथ लिएर प्रगतिशील अभियान नेपाल घोषणा गर्दे माओवादीलाई पुनर्गठन गर्ने बताएका थिए। 

‘अध्यक्ष प्रचण्डले माओवादी पार्टी छाडेर माधवकुमार नेपालको नीतिमा आत्मसमर्पण गर्नुभयो। उतै जानुभयो। हामीले त्यो कुरालाई स्वीकार गरेनौँ र हामीले नयाँ ढंगले पुनर्गठनसहित प्रगतिशील अभियान सञ्चालन गर्ने अठोट गरेका छौँ,’ उनले भनेका थिए, ‘सहिदको बलिदानलाई खेर जान नदिने र तिनको जिम्मेवारी लिई पूरा गर्ने अठोट लिएका छौँ।’ 

तर, शर्माले माओवादी पुनर्गठन गरेनन्। न त देशव्यापी रुपमा अभियान नै चलाए। बरु आफू पृष्ठभूमिमा बसेर कम्युनिस्ट नाम नराखी नयाँ दल खोल्दैछन्। अभियान मार्फत् देशभर पुग्ने दाबी गरेका शर्माले १२ दिनमै नयाँ दल खोल्ने निर्णय लिए।

डा बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी नयाँ शक्ति र रास्वपा छोडेका सन्तोष परियारबीच कात्तिक २८ गते सहकार्य गर्ने सहमति भएको थियो। यही तीन घटक मिलेर बनेको नयाँ पार्टी मंसिर ७ गते घोषणा हुँदैछ।

भट्टराई र शर्माको रोहबरमा नेसपा (नयाँ शक्ति), रास्वपा छोडेका परियार लगायत मिलेर बन्ने नयाँ दल कम्युनिस्ट नामको नहुने समझदारी भएको प्रगतिशील अभियान नेपालका संयोजक सुदन किरातीले बताए।

‘एकथान कम्युनिस्ट पार्टीको नेपालमा अब जरुरी छैन, परम्परागत कम्युनिस्ट पार्टी यो संसारमा चल्दैन,’ किरातीले नेपालखबरसँग भने, ‘यहाँ त, कम्युनिस्ट नाम राख्ने तर काम नगर्ने भयो। हामी कम्युनिस्ट शब्द प्रयोग नगर्ने तर, कम्युनिस्ट भावनामा काम गर्ने भनेका छौँ।’ 

उनले थपे, ‘असमानताको अन्त्य गर्ने मार्क्सवाद व्यवहारमा लागू हुनुपर्‍यो। एकथान कम्युनिस्ट पार्टी चाहिएको होइन, मार्क्सवादको मान्यतामाथि काम गर्ने हो। कम्युनिस्ट भनिराख्नु परेन।’

निर्वाचन आयोगमा गैरकम्युनिस्ट नाम राखेर नयाँ पार्टी दर्ता गर्न निवेदन पेस गरिएको नेताहरूले बताए। उनीहरूका अनुसार अब शर्माले कम्युनिस्ट नाममा राजनीति नगर्ने भनिसकेका छन्। 

डा बाबुराम भट्टराईले २०७२ असोज १० गते तत्कालीन माओवादी छाडेका थिए। त्यसपछि उनले कम्युनिस्ट नाम राखेनन्। बरु विभिन्न दलसँग एकता गर्दै अगाडि बढ्न खोजे पनि सफल भएनन्।

जेन–जी आन्दोलनपछि भट्टराईले नेसपा (नयाँ शक्ति)बाट राजीनामा दिएर दुर्गा सोबलाई संयोजक बनाएका छन्। आयोगमा दर्ता गर्न लागिएको नयाँ गैरकम्युनिस्ट पार्टीमा भट्टराईकी छोरी मानुषी सक्रिय भएर लग्ने छन्।

‘हामी भाइ माओवादी र भाइ एमाले नहुनकै लागि कम्युनिस्ट नाम नराख्ने निचोडमा पुगेका हौँ,’ प्रगतिशील अभियान नेपालका केन्द्रीय सदस्य पुष्प न्यौपानेले भने।

विप्लव र घनश्यामसँग एकता 
माओवादी केन्द्रसँग अलग भएपछि शर्माले नेत्रविक्रम चन्द र घनश्याम भूसालसँग एकताको प्रयास गरेका थिए। तर, यी दुवै समूहले कम्युनिस्ट नाम राखेरै दल दर्ता गराएका छन्।

चन्द महामसचिव रहेको कम्युनिस्ट पार्टी नेपाल र भूसाल नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (वामपन्थी केन्द्र) दर्ताका लागि निवेदन दिएका छन्।

चन्दले कात्तिक ११ गते कम्युनिस्ट पार्टी नेपाल दर्ताको लागि आयोगमा निवेदन दिएका थिए। 

यस्तै, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबाट माओवादी केन्द्रसँग एकतामा नगएका भूसालले कात्तिक २३ गते दल दर्ताको निवेदन दिएका हुन्। 

कम्युनिस्ट नाम नै नराखेपछि नेत्रविक्रम चन्द र घनश्याम भूसालहरूसँग कसरी हुन्छ त एकता भन्ने प्रश्नमा किरातीले सबै जनताले मन पराउने र साझा नाम राख्न खोजेको बताए। 

‘देशको संकट हटाउन मुद्दा मिल्नेसँग सहकार्य हुन्छ। विचार मिल्नेसँग पार्टी एकता पनि हुन्छ,’ किरातीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad