राजनीति


चुनावअघि नै महाधिवेशन गर्न माग गर्दै देउवानिकट २५ केन्द्रीय सदस्यले पार्टी कार्यालयमा बुझाए ज्ञापनपत्र

चुनावअघि नै महाधिवेशन गर्न माग गर्दै देउवानिकट २५ केन्द्रीय सदस्यले पार्टी कार्यालयमा बुझाए ज्ञापनपत्र

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार १३:२७, काठमाडौँ

नेपाली कांग्रेस संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले पार्टीको १५औँ महाधिवेशन प्रतिनिधि सभा निर्वाचनअघि नै गर्न माग गर्दै केन्द्रीय कार्यालयमा शुक्रबार ज्ञापनपत्र बुझाएका छन्। 

१४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा समूहमा रहेका उनीहरूले फागुन २१ गते हुने चुनाव परिणाममुखी बनाउन पार्टीको १५औँ महाधिवेशन मंसिर १५ भित्रै सुरु गर्नुपर्ने उल्लेख गरेका छन्।

‘आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मङ्सिर महिनाभित्र १५ औँ महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागु गर्ने’, ज्ञापनपत्रमा भनिएको छ।

यस्तै ज्ञापनपत्रमा महाधिवेशन सम्पन्न गर्ने पहिलो खुड्किलो क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण भएकाले यो काम समय सीमा निर्धारण गरेर टुंग्याउन माग गरिएको छ। 

यसैगरी युवाको उल्लेखनीय प्रतिनिधित्व सुनिश्चित हुने गरी विधानमा संशोधन गर्नुपर्ने, पार्टीको आन्तरिम निर्वाचन समितिलाई अविलम्ब पूर्णता दिनुपर्ने, १५औँ महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिवासी जनजाती, थारू, मधेसी, मुस्लिम, पिछडिएका क्षेत्र र वर्ग तथा अपांगता भएकाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न पनि माग गरिएको छ। 

ज्ञापनपत्रमा उनीहरूले स्थानीय, प्रदेश र संघीय तहका निर्वाचनमा समानुपातिक  समावेशिताको सिद्धान्तअनुसार युवालाई पनि  उम्मेदवार बनाउन र संविधान संशोधनका सन्दर्भमा पार्टीमा वडादेखि केन्द्रीय तहसम्म व्यापक संवाद चलाई स्पष्ट दृष्टिकोणसहित पार्टीको अवधारणा बनाउन पनि माग गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad