नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई होटलमा शपथ गराइएको घटनालाई संघीयतामाथिको प्रहार भएको टिप्पणी गरेका छन्।
मंगलबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले राज्यको संरचना प्रचलित राज्य प्रणालीअनुसार नै सञ्चालन हुनुपर्ने बताउँदै तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पदीय मर्यादा र पद्धति पालनामा गम्भीर चुक गरेको आरोप लगाए।
उनले भने, ‘राज्य प्रणालीका आफ्नै मर्यादाहरू हुन्छन्। यी मर्यादाको पालना गर्ने जिम्मेवारी जिम्मेवार अधिकारीको हो। मधेस प्रदेशमा भएको कार्यले त्यही मर्यादामाथि प्रश्न उठाएको छ।’
पौडेलले प्रदेश प्रमुखको आचरणले संघीय अभ्यासमाथि नै अविश्वास पैदा गरेको भन्दै राजनीतिक जिम्मेवारी बोध गर्न आग्रह गरे। उनका अनुसार कुनै दलका प्रतिनिधि सार्वजनिक पदमा पुगेपछि पार्टीगत सोचभन्दा माथि उठ्न सक्नुपर्छ।
तत्कालीन प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री यादवलाई बर्दिवासस्थित एक होटलमा सपथ गराएकी थिइन्। सो घटनापछि पदीय मर्यादा कायम गर्न नसकेको भन्दै सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो, जसअनुसार भण्डारीलाई पदमुक्त गरिएको छ।
Shares

प्रतिक्रिया