संविधानविद खिमलाल देवकोटाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको बताएका छन्।
नेपाली कम्युनिष्ट पार्टीका नेता समेत रहेका उनले निर्वाचनमार्फत प्रतिनिधि पुनःस्थापना गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका हुन्।
मंगलबार नेपाल कानुन समाजद्वारा काठमाडौंमा आयोजित प्रतिनिधि सभाको निर्वाचनः चुनौति र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता देवकोटाले वर्तमान सरकारले फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने मुख्य जिम्मेवारी पाएकाले त्यसभन्दा दायाँबायाँ सोचेर अघि बढ्न नमिल्ने तर्क समेत गरे।
उनले भने,‘प्रतिनिधि सभाको विघटन भएको हो। त्यो प्रतिनिधिसभाको निर्वाचनमार्फत पुनःस्थापना गर्ने कुरा हो। दोस्रो कुरा, यो सरकारले निर्वाचन घोषणा गरेको पनि होइन। राष्ट्रपति फागुन २१ गते निर्वाचन गर्ने तपाईको जिम्मेवारी हो भनेर टिओआर दिनुभएको हो। यो सरकारले फागुन २१ गते चुनाव गर्नका लागि मन्जुर गरेर त्यो कुर्सी लिएर आएको हो। त्यसकारण त्यसभन्दा भिन्न ढंगले मैले सोच्ने ठाउँ छैन। त्यसकारण निर्वाचनमार्फत् प्रतिनिधिसभा आउने कुरा चाँही महत्वपूर्ण कुरा हो।’
नेता देवकोटाले मुलुकलाई अघि बढाउन प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुने शासन व्यवस्था उपयुक्त हुने पनि बताए।

प्रतिक्रिया