खासगरी पार्टी विभाजन हुँदा नेकपा एकीकृत समाजवादीमा गएका नेता-कार्यकर्ताहरूलाई नेकपा एमालेले आज (कात्तिक २४ गते) ‘घर फर्काउँदै’ छ।
यसका लागि एमालेले आज दिउँसो साढे २ बजे काठमाडौँस्थित राष्ट्रिय सभागृहमा ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’, आयोजना गर्दै छ।
जसअन्तर्गत तत्कालीन एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री, नेता किसान श्रेष्ठलगायत एमालेमा फर्किँदै छन्।
यसैबीच झाँक्रीले यस अभियानमा सहभागी हुन पूर्वएमालेजनलाई आह्वान गरेकी छन्।
‘यो अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो। हामी सँगसँगै सबै जना कम्युनिस्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो। सबै जना कमरेडहरूलाई यो कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु’, उनले भनेकी छन्।

तत्कालीन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई तत्कालीन नेकपा माओवादी केन्द्रसहित १० वाम दलको एकतामा समाहित गराएपछि महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलगायत नेता अलग भएका हुन्।
झाँक्री किसान श्रेष्ठलगायत केही नेता एमालेमा फर्किने भए पनि भुसाललगायत एउटा समूहले भने एकीकृत समाजवादी पुनर्गठन अभियान घोषणा गरेको छ। जसको संयोजक भुसाल बनेका छन्।
उता १० कम्युनिस्ट घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी बनाएका छन्। जसमा संयोजक प्रचण्ड र सहसंयोजक नेपाल छन्।
Shares

प्रतिक्रिया