राजनीति


प्रचण्डले फेरि भरत साहलाई नै दलको नेता बनाएपछि २५ दिनमै ढल्यो सोनल नेतृत्वको सरकार

प्रचण्डले फेरि भरत साहलाई नै दलको नेता बनाएपछि २५ दिनमै ढल्यो सोनल नेतृत्वको सरकार

जितेन्द्र सोनल र भरत साह


नेपालखबर
कात्तिक २३, २०८२ आइतबार ९:१६, काठमाडौँ

मधेसको सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) भित्रको आन्तरिक विवादको कारण मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल नेतृत्वको सरकार २५ दिनमै ढलेको छ। 

शनिबार प्रदेशसभाबाट विश्वसको मत नपाउने अवस्था सिर्जना भएपछि सोनलले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा हिजै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले स्वीकृत गरेकी छन्। 

गएको असोज २९ गते माओवादी केन्द्रसहित साना पाँच दलका ५६ सांसदको समर्थनमा सोनल मधेसको मुख्यमन्त्री नियुक्त भएका थिए। तर, शनिबारको प्रदेशसभा बैठकमा माओवादी केन्द्रका सांसद रहबर अन्सारी र माला कर्णले सोनललाई विश्वासको मत नदिने घोषणा गरेपछि लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनलले विश्वासको मत नपाउने अवस्था सिर्जना भयो। 

त्यसपछि सोनलले प्रदेशसभामा विश्वासको मत नमागी पदबाट राजीनामा दिएको घोषणा गरे। 

जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादीको समर्थनमा असोज २९ गते मुख्यमन्त्री नियुक्त भएर ३० गते शपथ ग्रहण गरेका सोनललाई अहिले आएर माओवादी केन्द्रका दुई सांसदले किन विश्वासको मत नदिने अवस्था आयो त? यो प्रश्नको जवाफमा माओवादी केन्द्रकी सांसद् माला कर्णले नेपालखबरसँग भनिन्, ‘यस बीचमा भरत साहलाई दलको नेता बनाउने केन्द्रको निर्णयले यस्तो अवस्था सिर्जना भएको हो।’

तत्कालीन माओवादी केन्द्रका संयोजक प्रचण्डले यही कात्तिक १७ गते मधेस प्रदेशका सभामुखलाई पत्र पठाउँदै भरत साहलाई माओवादीको मधेस प्रदेश संसदीय दलको नेतामा पुन:स्थापना गरिएकाले साेही अनुसार गर्न भनेका थिए। 

नैतिक चरित्र (यौन विचलनको आरोप)माथि प्रश्न उठेपछि गएको जेठ तेस्रो साता साहले मधेस संसदीय दलको नेता र माओवादीको केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए। 

तर, पछिल्लो समय नेता मातृका यादवको जोडबलमा प्रचण्डले उनै साहलाई फेरि संसदीय दलको नेता बनाएपछि प्रदेशसभामा माओवादीका सांसद विभाजित भएका हुन्। 

केही समयअघि मात्रै भरत साहलाई संसदीय दलको नेतामा पुन:स्थापना गर्नु नहुने भन्दै माओवादी मधेस प्रदेशका सांसदहरू रहबर अन्सार, माला कर्ण, रैजी हदर, फकिरा महतो, जवाहर महतो र सुनिता यादवले सामूहिक रूपमा प्रचण्डलाई पत्रसमेत पठाएका थिए। 

‘तर बहुमत सांसदको आग्रहलाई लत्याउँदै हामीसँग कुनै छलफल नै नगरि पार्टी केन्द्रले फेरि भरत साहलाई संसदीय दलको नेतामा पुन:स्थापना गरेपछि यो अवस्था सिर्जना भएको हो,’ माओवादीका अर्का सासद्ले भने, ‘भरत साहको पक्षमा जम्मा सांसद शारदा पहाडी मात्रै थिइन्। सांसद् युवराज भट्टराई (समिर) तटस्थ थिए। यस्तो अवस्थामा भरतलाई फेरि संसदीय दलको नेता बनाउने निर्णय संयोजक प्रचण्डले गर्नु हुँदैनथ्यो।’

हिजो प्रदेशसभामा बोल्दै माओवादी सांसद् रहबर अन्सारीले आफ्नै अनुहारमा कालोमोसो दलेर विरोध गरेका थिए। उनले प्रदेशमा केन्द्रले निर्णय लाद्ने काम गरेको भन्दै असन्तुष्टि  जनाए। 

जेनजी आन्दोलनले देशको अवस्था बदलिए पनि नेताहरूको चरित्र नबदलिएको भन्दै अन्सारीले आक्रोस पोखेका छन्।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad