नेकपा एमालेको आगामी सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारीको घोषणा गर्ने भएका छन्। उनलाई सचिवालयका बहुमत सदस्यले साथ दिने तयारी छ।
कात्तिक १५ गते भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकमा सचिवालय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीलाई मार्गप्रशस्त गरेर पार्टी पुनर्गठनमा सहयोग गर्न आग्रह गरेका थिए। त्यसमा ओली सहमत भएनन्।
तर, अब बस्ने बैठकमा औपचारिक रूपमा पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिने जानकारी गराउने सचिवालयका एक नेताले बताए। मंसिर २७–२९ सम्म काठमाडौँमा तय भएको एघारौँ महाधिवेशनको लागि मूल समिति र अन्य समितिहरू बनाउन पनि सचिवालय बैठक बस्नुपर्नेछ।
यद्यपि, बैठकको मिति तय भइसकेको छैन।
कात्तिक १५ गतेको बैठकमै पोखरेलले अध्यक्ष पदमा आफ्नो उम्मेदवारीबारे कुरा उठाउन खोजेको ती नेताको भनाइ छ।
‘महाधिवेशन प्रतिनिधि चयनको विषयमा छलफल हुँदै गर्दा ईश्वर कमरेडले नेतृत्वको बारेमा पनि छलफल गर्नुपर्ने भयो, को हो नि भनेर सोध्नु भएको थियो,’ ती नेताले नेपालखबरसँग भने, ‘त्यसपछि अध्यक्ष ओलीले अहिले मिलेन, अर्को बैठकमा छलफल गर्नुपर्ने भयो भन्नु भयो।’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नवीकरण भइसकेको सदस्यता खोल्न ओली सहमत भएका छैनन्। भण्डारीलाई अध्यक्ष बन्न नदिन सदस्यता नै रोकिदिएपछि पोखरेलले उनकै साथ लिए ओलीसँग प्रतिस्पर्धा गर्न लागेको ती नेताले दाबी गरे।
‘अब बस्ने बैठकमा पार्टीको नेतृत्व लिन उठ्छु, मलाई सहयोग गर्नुस् भनेर ईश्वर कमरेडले ओलीजीलाई भन्नुहुन्छ,’ ती सचिवालय सदस्यले थपे, ‘समझदारी हुन्छ या प्रतिस्पर्धा, त्यहीँ फाइनल कुराकानी हुन्छ।’
पोखरेलले ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको रिपोर्ट नेपालखबरले अघिल्लो साता नै प्रकाशित गरेको थियो। त्यसपछि पोखरेलले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण नखोले आफूले अध्यक्षमा उम्मेदवारी दिने बताएका थिए।
‘हाम्रो समूहबाट अब अध्यक्षमा ईश्वर उठ्ने पक्का हो,’ अर्का सचिवालय सदस्यले भने, ‘यसकै लागि सबै नेतासँग कुरा भइराखेको छ। विद्या भण्डारीको पूरै सहयोग रहन्छ। सबैसित एकएक कुरा गरिरहेका छौँ।’
छलफलमा पूर्वमाओवादीका रामबहादुर थापासँग पनि सकारात्मक कुरा भएको ती नेताले दाबी गरे।
‘हामी चुप लागेर कहाँ बस्छौँ त, यत्रो वर्ष राजनीति गरेर आएको भन्नुभएको छ,’ उनले भने।
सचिवालयमा रहेका नेताहरूमध्ये अहिलेसम्म ६ जना पोखरेलको पक्षमा उभिएका छन्। बाँकी चार जनाले प्रस्ट जवाफ दिइनसकेको उनको भनाइ छ।
पोखरेलको पक्षमा १८ सदस्यीय सचिवालयका दश जना उभिए भने त्यो बहुमत हुनेछ, जसले ओलीसँग प्रतिस्पर्धा गर्न बल मिल्ने आकलन यो पक्षले गरेको छ।
‘कि त ओलीलाई मानेर जान पर्यो, कि त प्रतिस्पर्धा गरेर,’ उनले थपे, ‘हामीले दोस्रो विकल्प रोज्यौँ।’
कात्तिक १५ गतेको सचिवालय बैठकमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पार्टीलाई पुनर्गठन गर्न ओलीले मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए।
‘अब ओलीबाट हुँदैन भन्ने प्रस्ट देखियो। उहाँले जिन्दगीमा के के गर्नुभयो के के? अब उहाँलाई पब्लिकले स्वीकार्ने अवस्था छैन,’ अर्का सचिवालय सदस्यले भने, ‘यति भइसक्दा पनि राजीनामा नदिनुको मुख्य कारण केही मान्छेको घेराबन्दीमा हुनुहुन्छ।’
तेस्रो पटक अध्यक्ष बन्न सबै हिसाबले तयारी गरिरहेका र दुई तिहाइ बहुमत ल्याउने योजना बनाइरहेका ओलीलाई धक्का दिने उनीहरूको भनाइ छ।
‘अब हामी तयारीमा छौँ, केपी ओलीलाई मात्र एकलौटी छोडेर यो पार्टीलाई अगाडि लैजान सकिन्न, कोही नभएको जसरी,’ उनले भने, ‘अब यसरी चल्दैन, उहाँलाई लिएर चुनावमा जान पनि सकिँदैन।’
ओलीबाट एमालेमा नयाँ आकर्षण पैदा गर्न नसक्ने ऊनीहरूको बुझाइ छ।
तर, ओलीलाई बिच्काएर जान नहुने भएरै अहिलेसम्म कुरेको उनीहरूको भनाइ छ।
‘बिना तयारी अध्यक्षलाई निहुँ खोज्नेगरी मात्र गर्नु हुँदैन भन्ने थियो। अब सबै तयारी भइसक्यो,’ ती नेताले भने, ‘हाम्रो, ईश्वर कमरेड लगायतको प्रस्ट कुरा भनेको– अहिलेसम्म केपीकै नेतृत्व मान्दै आयौँ। उहाँ हो सबै भनेर हामीले धेरै कुरा सहँदै पनि आयौँ। सम्मान पनि गर्यौँ। तर अब त्यो अवस्था रहेन। एकपटक हिजोदेखि माया गरेका साथीहरूलाई स्थान छोड्नुपर्यो भनेर बैठकमा भन्छौँ, पार्टीमा योगदान गरेको, दुःख गरेको ईश्वर कमरेडलाई अध्यक्षमा अगाडि सारेर जाऊँ भन्छौँ।’
यद्यपि ओलीले सो प्रस्ताव स्वीकार गर्ने कुनै सम्भावना छैन। तर, ओलीको विकल्प खोज्नुको कुनै विकल्प नभएको अर्का सचिवालय सदस्यको भनाइ छ।
‘अब केपी कमरेडले नेतृत्व गर्न हुँदैन। देशमा द्वन्द्व सिर्जना हुन्छ। त्यो रोक्न अब उहाँले सक्नुहुन्न। यो देश बचाउन, लोकतन्त्र, गणतन्त्र बचाउन अब एमालेमा नेतृत्वको विकल्प खोज्न जरुरी छ, यस पटक ईश्वरलाई अगाडि सारेर जाँदा त्यो टिम दह्रो हुन्छ,’ ती नेता भन्छन्।
भदौ २३ गतेको जेन–जी प्रदर्शनमा सरकारले बर्बर दमन गर्दा १९ युवाको ज्यान गएको थियो। त्यही घटनाको कारण भदौ २४ गते देशभर आगजनी, लुटपाट र तोडफोड भएको थियो। दबाब थेग्न नसकेपछि ओलीले प्रधानमन्त्रीबाट सोही दिन राजीनामा दिएका थिए।
यही कारण पार्टीलाई निकै क्षति गरेको उपाध्यक्ष शाक्य बताउँछिन्।
‘यत्रो घटना घटिसक्यो। यसको दोष अरुलाइ दिएर मात्र हुँदैन। उहाँले मेरो कारण होइन भने पनि एउटा कारण उहाँ पनि हो। प्रधानमन्त्रीको जिम्मेवारीमा बसेपछि जवाफदेही हुनुपर्थ्यो,’ उनले भनिन्।
उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पार्टीभित्र महाधिवेशनको चहलपहल सुरु भइसकेको बताउँछन्।
Shares

प्रतिक्रिया